१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन गर्ने एमाले अखिलको चेतावनी

८ फागुन, काठमाडौं । नेकपा (एमाले) निकटको विद्यार्थी संगठन अनेरास्ववियुले एमालेकाे झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन गर्ने चेतावनी दिएकाे छ ।

अनेरास्ववियुका अध्यक्ष दीपक धामीले विज्ञप्ति जारी गर्दै  दाङमा रास्वपा कार्यकर्ताले एमालेकाे झण्डा जलाएको घटनालाई अमर्यादित तथा उत्तेजनापूर्ण गतिविधि भएको उल्लेख गर्नुभएकाे छ ।

विज्ञप्तिमा यस्तो कार्यले लोकतान्त्रिक मूल्य–मान्यता, राजनीतिक सहिष्णुता र सामाजिक सद्भावमा प्रत्यक्ष आघात पुर्‍याउने उल्लेख गर्दै राजनीतिक मतभिन्नता लोकतन्त्रको स्वाभाविक विशेषता भए पनि फरक आस्था र विचारमाथि आक्रमण गर्नु लोकतान्त्रिक संस्कारविपरीत हुने बताइएको छ।

संघले उक्त घटनाको घोर भर्त्सना गर्दै सम्बन्धित निकायलाई घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ। साथै, यस विषयमा सरकार मौन बसे वा अराजकतालाई प्रश्रय दिएको खण्डमा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी समेत दिइएको छ।

प्रकाशित मिति : February 20, 2026 at 12:40 pm