बाजुराको साँफे–मार्तडी राजमार्ग पहिरोले बन्द
२६ वैशाख, बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्गअन्तर्गत पर्ने बूढीगंगा नगरपालिका–१, अम्कोटको द्वारीमा मंगलबार राति आएको पहिरोले सडक बन्द भएको छ ।
सडकको माथिपट्टिबाट ठूलो ढुंगा आएर बीच सडकमा अड्किएपछि बाटो बन्द भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले बताए ।
जेसिवी प्रयोग गरेर बाटो खोल्न खोज्दा सम्भव नभएपछि स्काभेटर नै प्रयोग गर्नुपर्ने भएको प्रहरी उपरीक्षक वलीले बताए ।
सडक बन्द भएपछि लामो र छोटो दूरीका यातायातका साधन द्वारीमा रोकिएका छन् । सडक खोल्ने प्रयासका लागि पिएस कम्पनीलाई आग्रह गरिएको प्रहरी प्रमुख वलीले जानकारी दिए ।
प्रकाशित मिति : २६ बैशाख २०७५, बुधबार १०:३२