१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

साधारणमा पनि सुपर चार्जिङ बराबरको लगानी

२० माघ, काठमाडौं नेपाल विद्युत् प्राधिकरणले सुपर चार्जिङ स्टेसन बराबरको लगानीमा साधारण चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अघि बढाएको छ । हाल ६३ अर्ब रुपैयाँ लागतमा ५० स्टेसन निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरिसकिएको छ । साधारण चार्जिङ स्टेसनका लागि गरिएको यो आह्वानमा प्राधिकरणले मोटो रकम खर्च गर्दै छ ।

स्टेसन आगामी चैत अन्तिमसम्म सम्झौता भई निर्माण सुरु गरिने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । साधारण चार्जिङ स्टेसन पुरानो प्रविधि हो । यसमा एउटा सवारी पूर्णचार्ज गर्न कम्तीमा ६ घण्टा लाग्छ तर सोही ६ घण्टामा चार्ज हुने सवारीलाई सुपर चार्जिङले दुई घण्टामा गर्छ तर प्राधिकरणले भने साधारण चार्जिङ स्टेसन बनाउँदै छ ।

४२ किलोवाटको मेसिन राखिने चार्जिङ स्टेसनमा ६ घण्टा लगाएर चार्ज गर्नुभन्दा दुई घण्टामै चार्ज हुने सुपर चार्जिङ स्टेसन बनाउन व्यवसायीको सुझाव रहेको खबर गोरखापत्र दैनिकमा छ । ४ विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले भने, ‘प्राधिकरणले नर्मल चार्जिङ स्टेसन बनाउँदै छ त्यो पनि साह्रै महँगोमा, एउटा स्टेसन बनाउन ५० लाख खर्च लाग्दैन तर उहाँहरूले एक अर्ब रुपैयाँको हिसाब गरिरहनुभएको ६/६ घण्टा चार्ज गर्नुपर्ने अवस्था अबको दुनियाँमा व्यावहारिक पनि हुँदैन ।’

प्राधिकरणका अनुसार एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको चार्जिङ स्टेसन देशका विभिन्न स्थानमा रहने छन् । ५० मध्ये सातवटा प्रदेशमा पाँच/पाँचवटा, काठमाडौँ उपत्यकामा १० वटा र बाँकी पाँचवटा आवश्यक अन्य स्थानमा राखिनेछ ।

चार्जिङ स्टेसन सञ्चालनमा आएपछि थप सात हजार एक सय किलोवाट विद्युत् खपत हुनेछ । एउटा स्टेसनमा एक सय ४२ किलोवाट विद्युत् आवश्यक पर्छ ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार ०७:०६