१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

कुहिएको चामल प्रशोधन गरी बेच्ने तयारी

२० माघ, काठमाडौं खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीस्थित अञ्चल कार्यालयको गोदाममा कुहिएको ४ सय ८७ क्विन्टल २२ किलो बासमती चामल प्रशोधन गरी बिक्री गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कुरिरहेको छ । खाद्य कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले कुहिएको चामल पुरै नष्ट गर्न नदिइने बताए ।

उनले भने, ‘अहिले अख्तियारले छानबिन गरिरहेको छ, यसकारण हामीले केही चलाएका छैनौं, छानबिनपछि चामल प्रशोधन गरी पशुदानाका लागि भए पनि प्रयोगमा ल्याउने योजना छ ।’ अख्तियारको निर्देशनलगत्तै चामल प्रशोधन गर्ने उनको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य कम्पनी गोदाममा कुहिएको चामलमाथि छानबिन सुरु गरेको दुई महिनासम्म कुनै कारबाही गर्न नसकेको खबर राजधानी दैनिकमा छ ।

गोदाममै कुहिएको चामलको छानबिनकै लागि अख्तियारले गोदामबाट चामल लिएर १० वटा नमुना गुणस्तर जाँचका लागि गत ७ पुसमा खाद्य प्रविधि गुण नियन्त्रण विभागमा पठाएको थियो । विभागले गत १६ पुसमै १० वटा नमुना नै गुणस्तर फेल भएको रिपोर्ट पठाइसकेको छ ।

चामलको मापदण्डअनुसार खानयोग्य हुन सुक्खा, सफा र सग्लो भई रङमा एकरूपता भएको हुनुपर्छ । ढुसी, कीरा नलागेको, कृत्रिम र रंग गरिएको हुनुहुँदैन । तर, चेकजाँचका लागि ल्याइएको १० नमुनामा एउटा पनि उपयुक्त भएको पाइएको छैन ।

खाद्य विभागका अनुसार अख्तियारले ल्याएको १० वटा नमुनामै ढुसी, कीरा र कृत्रिम रंग छ । यस्तो चामल नष्ट गर्नुबाहेक विकल्प नभएको विभागले प्रस्ट पारिसकेको छ ।

सांकेतिक तस्बिर ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार ०६:५८