८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

नौ वर्षपछि लियो प्रसारण लाइनले गति

२० माघ, दोलखा । सन् २०१२ सम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने दोलखाको सिँगटीदेखि सिन्धुपाल्चोकको लामोसाँघुसम्मको करिब ४० किमि प्रसारण लाइन निर्माण कार्यले बल्ल गति लिएको छ । दुई वर्षमा पूरा गर्नेगरी सन् २०१० अक्टोबरमा नेपाल विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग ठेक्का सम्झौता गरेर अघि बढेको भए पनि विभिन्न बहानामा ढिलो हुँदै गएकोमा निर्माण कार्यले करिब ९ वर्षपछि गति लिएको हो ।

सिँगटी–लामोसाँघु प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुङ्गेलले हालसम्म करिब ९० प्रतिशत काम सकिएको बताए । उनका अनुसार १३२/३३ को सबस्टेसनसहित १३२ केभी प्रसारण लाइन निर्माणमा १२४ टावर निर्माण गर्नुपर्नेमा ११७ टावर बनिसकेका छन् । सिँगटी र लामोसाँघुमा निर्माण भइरहेको सबस्टेसनको काम ८५ प्रतिशत सकिएको खबर गोरखापत्र दैनिकमा छ ।

बाँकी ७ टावरमध्ये भीरेश्वर नगरपालिका ९, झिङानीको चार र भीनपा ८ बोचको एक ठाउँ गरी जम्मा ५ ठाउँमा स्थानीयको अवरोधका कारण टावर बन्न नसकेको आयोजना प्रमुख ढुङ्गेलले बताए । बाँकी दुईवटा टावरको जगको काम सुरु भएको छ । प्रसारण लाइनको एउटा मात्रै सर्किटमा करिब २८ किलोमिटर तार तानिएको उल्लेख गर्दै उनले जग्गा विवाद समाधान भए अबको तीन महिनाभित्र एउटा सर्किटमार्फत ८० मेगावाटसम्म विद्युत् प्रसारण गर्न सकिने बताए ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार ०६:५१