१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

१८ पेट्रोल पम्प हटाइँदै (नामसहित)

२० माघ, काठमाडौं काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रमअन्तर्गत उपत्यकाका सडकछेउका १८ पेट्रोल पम्प हटाइने भएका छन् । सडक छेउका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नेपाल आयल निगमलाई पत्राचार भइसकेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव छवि रिजालले काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन कार्यक्रम अन्तर्गत उपत्यकाका सडक छेउका र सडकको घुम्तीमा रहेका पेट्रोल पम्पको व्यवस्थापन गर्न नेपाल आयल निगम र ट्राफिक प्रहरीलाई पत्राचार भएको जानकारी दिए । उनले पेट्रोल पम्पको व्यवस्थापनका लागि कार्ययोजना बनाएर योजनाबद्ध तरिकाले आयल निगमले पहिचान भएका पेट्रोल पम्प हटाइने बताए ।

नेपाल आयल निगमका निर्देशक तथा प्रवक्ता वीरेन्द्र गोइतले काठमाडौँ उपत्यकाको बढी मात्रामा सवारीसाधन आवागमन हुने सडकछेउ र सडक घुम्तीमा रहेका पेट्रोल पम्प हटाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निगमलाई पत्र प्राप्त भएको जानकारी दिए ।

साथै उनले निगमलाई प्राप्त पत्रअनुसार सम्बन्धित पेट्रोल पम्पलाई समेत निगमका तर्फबाट पत्राचार भएको बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट काठमाडौँका १२ र ललितपुरका ६ पेट्रोल पम्प हटाउन निगमलाई निर्देशन दिइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक भीम ढकालले बढ्दो जनसङ्ख्या र सवारी साधनले काठमाडौँ उपत्यकाको सडक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको बताए । अहिलेको अवस्थामा सडक छेउका पेट्रोल पम्प व्यवस्थापन गर्न ट्राफिक महाशाखालाई पत्र प्राप्त भएको जानकारी दिए ।

छैनन् नमुना पेट्रोल पम्प

नेपाल आयल निगमले गरेको वर्गीकरणअनुसार काठमाडौँ उपत्यकामा एउटा पनि ‘नमुना पेट्रोल पम्प’ को स्थापना हुन सकेको छैन । ‘नेपाल आयल निगम बिक्रेता नियमावली, २०७५’ कार्यान्वयनमा आए पनि काठमाडौँ उपत्यकामा अहिलेसम्म ‘नमुना पेट्रोल पम्प’ स्थापना नभएकाले २४ घण्टा पेट्रोल उपलब्ध हुन नसकेको खबर गोरखापत्र दैनिकमा छ ।

नियमावली अनुसार ‘नमुना पेट्रोल पम्प’का लागि तराईमा कम्तीमा एक बिघा र पहाडमा कम्तीमा पाँच रोपनी क्षेत्रफल तोकिएको छ । सरकारी र निजी गरी काठमाडौँ उपत्यकामा अहिले ११६ साधारण पेट्रोल पम्प सञ्चालनमा छन् ।

  • काठमाडौँबाट हटाइने पेट्रोल पम्प
    कोत थुकु पेट्रोल पम्प, बालाजु
    जयन्ती पेट्रोल पम्प, थापाथली
    कनक पेट्रोल पम्प, कालीमाटी
    मायाराम भोलाराम पेट्रल पम्प, थापाथली
    बाबा पेट्रोल पम्प, कलंकी
    श्यामा पेट्रोल पम्प, कलंकी
    त्रिशूल पेट्रोल पम्प, कलंकी
    भ्याली रिकेश पेट्रोल पम्प, कोटेश्वर
    कामाख्या पेट्रोल पम्प, कोटेश्वर
    जुबी पेट्रोल पम्प, बौद्ध
    बराल पेट्रोल पम्प, बौद्ध
    सीता पेट्रोल पम्प, महाराजगन्ज
  • ललितपुरबाट हटाइने पेट्रोल पम्प
    वज्रबराही पेट्रोल पम्प, चापागाउँ
    बालकुमारी पेट्रोल पम्प, चापागाउँ
    टीका भैरव डिजेल स्टोर, चापागाउँ
    साझा पेट्रोल पम्प, जावलाखेल
    एच पी इन्टरनेसनल, जावलाखेल
    गायत्री पेट्रोल पम्प, जावलाखेल

प्रकाशित मिति : २० माघ २०७६, सोमबार ०६:३४