१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

१९ माघ, काठमाडौं स्वयम्भूनजिक कारखानाचोकबाट भित्र छिर्ने सात सय मिटर सडक नागार्जुन नगरपालिकाले दुई महिनाअगाडि कालोपत्रे गर्‍यो । अहिले सडकमा कालोपत्रे उप्किएर खाडल बनेका छन् ।

मापदण्ड पूरा नगरी बनाएका कारण कालोपत्रेले दुई महिना पनि नथामेको नागार्जुन नगरपालिका ४ का बासिन्दाले बताएको खबर अन्नपूर्ण पोस्टमा छ । ‘नगरपालिकाले मापदण्ड पूरा नगरी पिच गरेको देखिन्छ,’ एक स्थानीयले भने, ‘कालोपत्रे देखाउन मात्र गरिएको रहेछ ।’

उक्त सडक बनाउन नगरपालिकाले ०७५ चैतमा कालिञ्चोक कन्स्ट्रक्सनसँग सम्झौता गरेको थियो । तर, बर्खाको मौसम भएकाले त्यस बेला काम सुरु नभएको नगरपालिकाका इन्जिनियर कञ्चन खनालले बताए । त्यसपछि कात्तिक मसान्तपछि कालोपत्रे गरियो ।

२० एमएको मोटाइको पिच गर्न ५४ लाख ९१ हजार रुपैयाँमा कालिञ्चोक कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता भएको जानकारी दिए । ‘कालोपत्रे दुई महिना नबित्दै उप्किएको हो,’ उनले भने, ‘ढललगायतका कारण पनि कालोपत्रे उप्किएको हुन सक्छ ।’

लामो समयसम्म ढलको समस्याले गर्दा पिच गर्न सम्भव थिएन । तर, सबैले काम छिटो गरौं भन्न थालेपछि चिसो अवस्थामै सडक कालोपत्रे गरिएकाले उप्किएको इन्जिनियर खनालको भनाइ छ । ‘हामीले ढलको समस्या भएकाले तत्काल काम नगर्ने भनेका थियौं,’ उनले भने, ‘सबैको दबाबका कारण चिसोमै काम गर्‍यौं । त्यो पनि एउटा कारण बन्यो ।’

फाइल तस्बिर ।

तर, यति छिट्टै कालोपत्रे उप्किएकाले ठेकेदारले मापदण्डविपरीत बनाएर अनियमितता गरेको स्थानीयको आशंका छ । नगरपालिकाले ठेकेदारको काम सन्तोषजनक नभएको भनेर पत्र काटिसकेको इन्जिनियर खनालले बताए । ‘हामीले कालिञ्चोक कन्स्ट्रक्सनका नाममा पत्र काटिसकेका छौं,’ उनले भने, ‘ठेकेदारलाई पुनः काम गर्न लगाउँछौं ।’

प्रकाशित मिति : १९ माघ २०७६, आईतवार ०७:१३