१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

सर्भे पक्की पुलको, बन्ने भयो बेलिब्रिज !

१९ माघ, कालीकोट कालीकोटको पचालझरना गाउँपालिकालाई सडकसँग जोड्न पुल बनाउने काम वर्ष दिन बितिसक्दा पनि सुरु भएको छैन । गत २०७५ पुसमा कर्णाली नदीमा पक्की पुल लगाउने भन्दै सर्भे भएको १३ महिना पूरा भयो तर हालसम्म पुल बनाउन कुनै पहल नभएपछि गाउँपालिकाले बेलिब्रिज जोड्ने निष्कर्ष निकालेको छ ।

कर्णाली प्रदेश सरकारले पुलको सट्टा बेलिब्रिज लगाएर तत्काल यातायात सञ्चालनमा ल्याउने र सडकसँग पचालझरना गाउँपालिका र पालाँता गाउँपालिकालाई जोड्ने योजनाका साथ सर्भेका लागि टोली पठाएको खबर गोरखापत्र दैनिकमा छ । पलाँता गाउँपालिकाको वडा ९ को वेल्केढुङ्गामा बेलिब्रिज लगाउन टोली कालीकोटमा आउँदै भनेर गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले जानकारी गरेको केही दिनमा टोली त आयो । तर टोली वेल्केढुङ्गामा सर्भे नगरेर पचालझरना गाउँपालिकाको केन्द्र रहेको जारकोटस्थित घाटलाइने ढुङ्गामा बेलिब्रिज जोड्ने भन्दै सर्भे गर्‍यो । जुन ठाउँको नजिकै गत पुसमा पक्की पुल बन्ने भन्दै प्रदेश सरकारले सर्भे गरेको थियो ।

फागुन १ गते पलाँता गाउँपालिकाले आफ्नो सार्वजनिक यातायात सञ्चालनमा ल्याउने उद्देश्यका साथ वेल्केढुङ्गामा बेलिब्रिज जोड्ने योजनाका साथ सर्भे टोली आउने बताएको थियो तर गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम काठमाडौं रहेका बेला कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालयका सदस्य सुमन शाहीलाई पठाएर पलाँताको सट्टा पचालझरनामा बेलिब्रिजको सर्भे गराउँदा पलाँताका नागरिक चिढिएका छन् ।

एसियाकै अग्लो पचालझरना अवलोकनमा जानका लागि चाटेबगरमा पुल बने निकै सहज हुने गाउँपालिका अध्यक्ष खड्कराज सेजुवाल बताउँछन् । पुल बने पचालझरना गाउँपालिकाभित्रका पाँचवटा वडा र पलाँता गाउँपालिका कर्णाली करिडोरसँग जोडिनेछ । पुल जहाँ बने पनि बन्नुपर्नेमा दुवै गाउँपालिकाभित्रका जनप्रतिनिधि एकमत भए पनि जनस्तरमा भने विरोध हुन थालेको हो ।

प्रकाशित मिति : १९ माघ २०७६, आईतवार ०६:३१