१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

आईसीपी हुँदै छुट्न थाले गाडी

१९ माघ, विराटनगर । एकीकृत जाँच चौकी (आईसीपी) विराटनगर हुँदै समुद्रपारबाट पैठारी गरिएका सामान बोकेका मालवाहक, भारतबाट आयात गरिने ग्यास र इन्धन बोकेका मालवाहक गाडी छुट्न थालेका छन् । आईसीपी सञ्चालन प्रक्रियामा आएसँगै शुक्रबारदेखि मालवाहक गाडी छुट्न थालेका हुन् ।

आईसीपीमा व्यवसायीका प्रतिनिधि र भन्सार एजेन्ट कक्षको व्यवस्थापन अझै बाँकी रहे पनि सञ्चालनमा ल्याइएको हो । फेब्रुअरी १ देखि सञ्चालनमा ल्याउने तयारी गरिए पनि एक दिनअगावै आईसीपीलाई सञ्चालनमा ल्याइएको छ ।

तेस्रो मुलुकबाट पैठारी गरिएको सामान बोकेका कन्टेनर र भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्कर तथा ग्यासका बुलेट आईसीपीको बाटो हुँदै नेपाल प्रवेश गराइएको विराटनगर भन्सार कार्यालय, रानीका सूचना अधिकृत मणिराम पौड्यालले जानकारी दिए ।

आईसीपीमा बैङ्क, क्वारेन्टाइन र सुरक्षा निकायका एकाइ खडा भइसकेका छन् । त्यसबाहेक इन्टरनेट प्रबन्धसमेत मिलाई सकिएको अधिकृत पौड्यालले बताए । ‘अब एजेन्ट कक्षको प्रबन्ध मिलाउन आवश्यक भएको छ,’ उनले भने, ‘केही पूर्वाधार विस्तार गर्नुपर्ने पनि छ ।’

आईसीपी परिसरमा आवश्यक पर्ने मालवाहक सवारीको पार्किङ क्षेत्र भने साँघुरो भएको खबर गोरखापत्र दैनिकमा छ । क्षेत्र विस्तार गर्न सक्ने जग्गा भए पनि अहिले ८० वटा क्षमताको मात्रै पार्किङ रहेको छ । तत्काल पाँच सय मालवाहक सवारी क्षमताको पार्किङ विस्तार गर्नुपर्ने आवश्यकता देखिएको छ । मालसामान जाँचका लागि सेड घर, वेयर हाउस र गोदाम पनि साँघुरो भएको छ ।

आईसीपी परिसर १२९ बिघामा फैलिएकोले आवश्यक संरचना निर्माण गर्न समस्या छैन । गत माघ ७ गते उद्घाटन भएको आईसीपीमा केही संरचना तयार गर्नुपर्ने भएकोले क्रमशः निर्माण गर्दै जाने बताइएको छ ।

प्रकाशित मिति : १९ माघ २०७६, आईतवार ०६:२३