६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

‘प्रदेश र केन्द्रीय सरकारले नै टुँडिखेलको संरक्षण गर्नुपर्छ’ (तस्बिरसहित)


१८ माघ काठमाडौं । ‘अकुपाई टुँडिखेल अभियान’ले अब प्रतिनिधि सभा, राष्ट्रियसभा, प्रदेश सभाका विभिन्न समितिमा गई टुँडिखेलको संरक्षण गर्न सरकारलाई निर्देशन दिन लगाउने आगामी योजना घोषणा गरेको छ । काठमाडौंको खुल्लामञ्चमा शनिबार अकुपाई टुँडिखेलले एक कार्यक्रमको आयोजना गरेर आगामी योजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।

अकुपाई टुँडिखेलका अभियन्ताहरूले अहिलेसम्म आफूहरूले स्थानीय सरकारसँग पटक–पटक टुँडिखेलको संरक्षणको लागि हारगुहार गरेको तर कुनै सुनुवाइ नभएकाले बाध्य भएर प्रादेशिक सरकार (वागमती प्रदेशको सरकार) र केन्द्रीय सरकारलाई नै अब यसको संरक्षणका लागि आग्रह गरिने जानकारी दिएका हुन् ।

त्यस्तै, अभियानले टुँडिखेलको अतिक्रमण गम्भीर मानव अधिकारको उल्लंघन भएकाले राष्ट्रिय मानवअधिकार आयोगमा डेलिगेसन गई तत्काल सरकारलाई सो अतिक्रमण हटाउन सिफारिस गर्न लगाउने पनि आगामी कार्यक्रम तय गरेको छ । युनेस्कोमा डेलिगेसन गई टुँडिखेलको मूर्त–अमूर्त सम्पदाप्रति संवेदनशील हुन ध्यानाकर्षण गराउने र चेतनशील नागरिक, नागरिक समाज, राजनितिज्ञ, पत्रकारहरूबाट आएको सुझावलाई आत्मसाथ गर्दै मुक्त टुँडिखेलको लागि संघर्ष गर्ने पनि अरू कार्यक्रम रहेको अभियानले जानकारी गराएको छ ।

कार्यक्रममा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले टुँडिखेलको संरक्षणको लागि आफूले सुरुदेखि नै आवाज उठाउँदै आएको सुनाउँदै यो अभियानलाई सार्थक बनाएरै छाड्ने स्पष्ट पारे । उनले भने, ‘म संसदको वातावरण समितिमा रहँदा पनि योबारे बोलेको थिएँ । मैले निरन्तर आवाज उठाउँदै आएको छु ।’ टुँडिेलको संरक्षणका लागि आफूले संसदमा समेत आवाज उठाउने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा मानवअधिकारकर्मी प्राध्यापक कपिल श्रेष्ठले टुँडिखेलको संरक्षण गर्नु मानवअधिकारको रक्षा पनि भएको स्पष्ट पारे । उनले भने, ‘यो काठमाडौंको लाइफलाइन हो । यसको रक्षा गर्नु हामी सबै सचेत नागरिकको कर्तव्य र दायित्व हो । यो अभियानलाई सफल बनाउनुपर्छ । तीनै तहका सरकार हाम्रो मागप्रति गम्भीर होऊन् ।’

त्यस्तै, वीर अस्पतालका पूर्वनिर्देशक डा. भूपेन्द्र बस्नेतले टुँडिखेल स्वास्थ्यको दृष्टिकोणले पनि अत्यावश्यक र महत्त्वपूर्ण स्थान भएको सुनाउँदै यसको संरक्षण गर्नु सबैको दायित्व भएको बताए । उनले भने, ‘नेपालमा वीर अस्पताल भनेको स्वास्थ्य क्षेत्रको हब हो, भोलिका दिनमा वीर अस्पतालमा कुनै प्राकृतिक कारणले उपचार गर्न सकिएन भने पनि टुँडिखेलमा अस्थायी केन्द्र बनाएर उपचार गर्ने सरकारको रणनीति छ । यो कुरालाई सबैले ध्यान दिनुपर्छ ।’

संस्कृति तथा इतिहासविद् योगेन्द्र श्रेष्ठले टुँडिखेल मूर्त तथा अमूर्त सम्पदाले भरिपूर्ण स्थल भएको सुनाउँदै यसको संरक्षण गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘दुईमाजु, गुरुमापा, पाँचार्य यस्ता विभिन्न सांस्कृतिक पर्वहरू यो ठाउँमा हुने गरेका छन्। त्यसैले यो क्षेत्रलाई पुरानै स्वरुपमा फर्काउनुपर्छ ।’

कार्यक्रममा अभियानका प्रवक्ता सञ्जय अधिकारीले जारी विज्ञप्ति वाचन गरेका थिए । उक्त अभियानले पुर्ण टुँडिखेल कायम गर्न लगाउने र सो क्षेत्रमा भएको सम्पूर्ण अतिक्रमण तत्काल हटाइ सो क्षेत्रको मूर्त–अमूर्त अवयवहरूको अस्तित्व संरक्षण र संवर्द्धन गर्न लगाउने तथा काठमाडौं महानगरपालिकाको अनुगमन समितिको अनुगमन प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्न जनदबाब दिन माघ २३ गते काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई भेट्ने कार्यक्रमसमेत तय भएको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार १८:२४