१५ जेष्ठ २०८१, मंगलवार | Tue May 28 2024

१० लाखमा ब्राह्मण सङ्ग्रहालय


१८ माघ, स्याङ्जा । आँधीखोला गाउँपालिका १, पञ्चमूलमा १० लाखमा ब्राह्मण समुदायको इतिहास, परम्परा र संस्कृति झल्किने सङ्ग्रहालय निर्माण गरिने भएको छ । पर्यटकीय गाउँ सिरुबारीको निकटमा अवस्थित उक्त स्थानमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको ५ लाख र स्थानीय बासिन्दाको ५ लाख रुपैयाँबराबरको जनसहभागिता परिचालन गरी सङ्ग्रहालय बनाउन लागिएको हो ।

सङ्ग्रहालयमा ब्राह्मण जातिका कला, संस्कृति भल्किने वेषभूषा, गरगहना, परम्परागतरुपमा उनीहरुले प्रयोग गर्ने कृषि उपकरणसहित माटो, काठ, फलाम, पराल र चोयालगायतका विभिन्न घरयासी सामग्री प्रदर्शन गरिने छन् ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले एक समारोहका बीच सो सङ्ग्रहालयको शिलान्यास गर्दै मलुकका सम्पूर्ण जातजातीका कला संस्कृति जगेर्ना गर्नु आजको आवश्यकता भएको बताए ।

प्राचीन सभ्यतालाई जीवन्त राख्ने यस्ता सङ्ग्रहालयले मुलुकको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने उल्लेख गर्दै उनले पछिल्लो समय सङ्ग्रहालय अध्ययन अवलोकन गर्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको चर्चा गरे ।

संविधानसभाका सदस्य गणेशमान गुरुङ र गण्डकी प्रदेशसभा सदस्य मीनप्रसाद गुरुङले ब्राह्मण सङ्ग्रहालय पर्यटकको एक गन्तव्यस्थल बन्ने विश्वास व्यक्त गरे ।

ब्राह्मण जातिको मौलिककला संस्कृति जोगाउने अभियानका साथ सामुदायिक सङ्ग्रहालय निर्माण गर्न लागिएको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष छमप्रसाद ढकालले जानकारी दिए । सङ्ग्रहालय ५ रोपनीमा निर्माण गरिन लागिएको हो । –रासस

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार ०९:३२