१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

खरको छाना हटाएर जस्तापाता

१८ माघ, स्याङ्जा । वालिङ नगरपालिकाले खरका छाना हटाउने अभियान सुरु गरेको छ । नगर कार्यपालिकाको पाँचौँ नगरसभाले नगरभित्रका खरका छाना हटाएर जस्तापाता लगाइदिने नीति तथा कार्यक्रम पारित गरेसँगै लागत सङ्कलनपश्चात जस्तापाता वितरण थालिएको वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

सांकेतिक तस्बिर ।

“नगरभित्रका १४ वडाका खरका छाना विस्थापनका लागि लागत सङ्कलन गरी शुक्रबारबाट जस्तापाता वितरण थालेका हौँ”, नगर प्रमुख खाँणले भने, “पहिलो चरणमा अति विपन्न घर परिवारलाई प्राथमिकतामा राखेका छौँ ।”

वालिङ ५ का बेगबहादुर सार्कीलाई शुक्रबार तीन बण्डल जस्तापाता निःशुल्क प्रदान गरिएको नगर प्रमुख खाँणले बताए । खरको छानो स्वास्थ्यका दृष्टिले उपयुक्त भए पनि आगलागीको सम्भावना बढी हुने र अर्कोतर्फ खर छाउने दक्ष कामदारको अभाव भएकाले नगरपालिकाको आर्थिक सहयोगमा जस्तापाता राख्ने योजना बनाएको नगर प्रमुख खाँणको भनाइ थियो ।

“कतिपय घरपरिवार खरको छानो फेर्न नसक्ने अवस्थामा हुनुहुन्छ”, नगर प्रमुख खाँणले भने, “खरका छानो भएका गरिब हुन् भनी फरक ढङ्गले हेर्ने र हेप्ने प्रवृत्तिको अन्त्यका लागि पनि यो अभियान थालेका हौँ ।”

खरका छाना भएका घरधनीले वडाको सिफारिस र खरको छानोको फोटोसहितको निवेदन नगरपालिका कार्यालयमा दिएपछि प्राविधिकबाट लागत अनुमानअनुसार जस्तापाता प्रदान गर्ने प्रक्रिया रहेको नगर उपप्रमुख कल्पना तिवारीले बताइन् । नगरपालिकाले खरका छाना विस्थापनका लागि आवेदन माग गरेसँगै हालसम्म ४२८ को निवेदन परेको निमित्त प्रमुख प्रशासकीय अधिकृत बाबुराम सापकोटाले बताए । –रासस

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार ०८:५६