१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

५० हजारको लोभले नापी अधिकृत श्यामबाबु शाहको जागिर चट


२५ वैशाख, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय उदयपुरका नापी अधिकृत श्यामबाबु प्रसाद साहविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार जग्गाको नक्सा सुधार संशोधन गर्ने प्रयोजनमा सेवाग्राहीसँग रु ५० हजार घुस लिएको अभियोगमा केही दिन पहिले नापी अधिकृत साह पक्राउ पर्नुभएको थियो । आयोगले आज विशेष अदालतमा नापी अधिकृत साहविरुद्ध मुद्दा दायर गरेको हो ।

यस्तै आयोगले आजै गुठी संस्थान शाखा कार्यालय ललितपुरमा कार्यरत वरिष्ठ सहायक जीतेन्द्र चित्रकार र कार्यालय सहयोगी अनन्तबहादुर श्रेष्ठविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उहाँहरुले गोदावरी नगरपालिका–८ मा रहेको जग्गाको हक नामसारीका साथै जग्गा मोही हक खरिद विक्री सिफारिश गर्ने प्रयोजनमा सेवाग्राहीसँग रु २० हजार घुस मागेको भन्ने सूचनाका आधारमा केही दिन पहिले आयोगको टोलीले पक्राउ गरेको थियो ।

उता आयोगले आज मालपोत कार्यालय सुर्खेतको मुद्दा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी र खरिदार ओमबहादुर सुनारविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगकाअनुसार उहाँहरुले मोहियानी हक दाबी नामसारी गर्ने नियमानुसार हुने काम नगरी छिटोछरितो गरिदिने भन्दै सेवाग्राहीसँग रु दुई लाख घुस मागेको अभियोगमा आयोग टोलीले केही दिन पहिले कार्यालय परिसरबाटै पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार २१:५३