१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

वित्तीय बजारमा १० अर्ब पठाउँदै केन्द्रीय बैंक

१७ माघ, काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव न्यून गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रिपोमार्फत १० अर्ब रुपैयाँ बजारमा पठाउन लागेको छ । केन्द्रीय बैंकले बैंकिङ प्रणालीमा तरलता सन्तुलन राख्नकै लागि बिहीबार १० अर्ब रुपैयाँ पठाएको हो ।

केन्द्रीय बैंकले एक साताका लागि जारी गरेको रिपो आगामी बिहीबार परिपक्व हुनेछ । ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाइन बिडिङ प्रणालीमार्फत बिहीबार अपरान्ह ३ बजेभित्र बोलकबोलमा सहभागी भएको खबर गोरखापत्र दैनिकमा छ ।

बैंक तथा वित्तीय संस्थाहरूले साढे चार प्रतिशत वा सोभन्दा बढी ब्याजदरमा आवेदन गर्न सक्नेछन् । साढे चार प्रतिशत वा सोभन्दा कम ब्याजदर कबोल गरी पेस भएका बोलपत्र रद्ध गरिने बताइएको छ । वित्त बजारमा देखिने तरलता अभाव सम्बोधन गर्नका लागि केन्द्रीय बैंकले अल्पकालीन अवधिको रिपो जारी गरेर तरलता प्रवाह गर्ने गरेको छ । यसअघि पनि गत माघ ७ गते एक साताका लागि २० अर्ब रुपैयाँको रिपो जारी गरेको थियो ।

५ महिनामा ३० अर्ब रुपैयाँ तरलता प्रशोचन
राष्ट्र बैंकले पाँच महिनामा खुला बजार कारोबारमार्फत कुल ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ ।

आर्थिक वर्ष ०७६/७७ को पाँच महिनामा खुला बजार कारोबारमार्फत कुल ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गरिएको हो । अघिल्लो वर्षको सोही अवधिमा एक सय अर्ब ३५ करोड रुपैयाँ तरलता प्रशोचन गरिएको थियो । समीक्षा अवधिमा रिपोमार्फत ३९ अर्ब ५२ करोड रुपैयाँ र स्थायी तरलता सुविधामार्फत ५० अर्ब ५५ करोड रुपैयाँ गरी कुल ९० अर्ब सात करोड रुपैयाँ तरलता प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा स्थायी तरलता सुविधामार्फत पाँच अर्ब ७२ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ०६:३१