१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

नयाँ बसपार्कमा ल्होत्सेको एकाधिकार, यात्रु मारमा


२५ वैशाख, काठमाडौँ । काठमाण्डौमा सार्वजनिक यातायातमा एकाधिकार (सिन्डिकेट) तोड्न यातायात व्यवसायी सहमत भएको भोलिपल्ट राजधानी बाहिर सवारी चल्ने नयाँ बसपार्कमा अर्को एकाधिकार शुरु भएपछि यात्रु मारमा परेका छन् ।

उपत्यका बाहिर चल्ने सवारीको टिकट काउन्टरमा नयाँ बसपार्कको व्यवस्थापनको अधिकार पाएको ल्होत्से बहुउद्देश्यीय संस्थाको एकाधिकारले यात्रु मारमा पर्न थालेका छन् । यसअघि यातायात समितिले काउन्टर खोलेर टिकट काट्ने गरेकामा आजदेखि ल्होत्सेले मात्र टिकट काट्न थालेको छ ।

ल्होत्सेले विसं २०५७ मा ४५ वर्षका लागि नयाँ बसपार्कको व्यवस्थापन गर्ने जिम्मेवारी पाएको थियो । ल्होत्सेलाई काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्क क्षेत्रको सरसफाइलगायत व्यवस्थापनको काम दिएको हो ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की भने ल्होत्सेले टिकट काट्न नपाउने बताउँछन् । सम्झौतापत्रमा ल्होत्सेले टिकट काट्न पाउने उल्लेख छैन, टिकट काटेर यात्रुसँग बढी भाडा असुलेको भए यस्तो काम तत्काल बन्द गर्ने उनले बताए । यस सम्बन्धमा ल्होत्सेका अधिकारी भने सम्पर्कमा आउन चाहेनन् ।

ल्होत्सेले तोकिएभन्दा तीन प्रतिशत बढी भाडा उठाउन थालेको यातायात सुधारका पक्षमा काम गर्दै आउनुभएका रामबहादुर थापा बताउँछन् ।
राजधानीमै गत शनिबारदेखि नै बिहान बेलुकी सवारी पाउन मुस्किल हुन थालेको यात्रुको गुनासो छ । दहचोककी रमिला भट्टराई यातायात एकाधिकार अन्त्य भयो भन्ने समाचार सुन्न थालेपछि सवारी पाउन नसकिएको बताउँछिन् । व्यवसायीले सबै व्यवस्थापन सरकारले गर्ने भन्दै मन लागे सवारी चलाउने मन नलागे नचलाउने गरेका छन् ।

गणतन्त्र दिवसको अवसर पारेर आगामी जेठ १५ गते विभागले नयाँबसपार्क–सामाखुसी–रत्नपार्क–सिनामंगल रुटमा माइक्रोबस र टेम्पो हटाई १७ वटा ठूला बस चलाउने तयारी भएको छ । यो रुटमा दिगो यातायात प्रालिले सवारी चलाउने छ ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार १९:१५