१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कोरोना भाइरसको प्रभाव : बुकिङ रद्द गर्दै पर्यटक

१६ माघ, पोखरा पोखराको पर्यटकीय क्षेत्र लेकसाइड यतिबेला सुनसान जस्तै देखिन्छ । चिनियाँ पर्यटकले भरिभराउ हुने यो क्षेत्र चीनमा देखिएको कोरोना भाइरसको सङ्क्रमणका कारण यतिबेला सुनसान देखिएको हो ।

नेपाल आउने पर्यटकमध्ये चिनियाँ पर्यटको हिस्सा दोस्रो नम्बरमा रहेको छ । यहाँ अहिले नेपालमै बसोबास गरिरहेका चिनियाँ पर्यटकको मात्रै उपस्थिति छ । चिनियाँ पर्यटक एड्भेञ्चर र पदयात्राका लागि नेपाल घुम्न आउने गरेका छन् । पोखरामा रहेका प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जिजम्प, जिप फ्लायर यतिबेला चिनियाँ पर्यटकका कारण भरिभराउ हुनुपर्ने सिजन भए पनि सो क्षेत्र सुनसान जस्तै बनेको खबर गोरखापत्र दैनिकमा छ । सङ्क्रमणका कारण नेपालमा रहेकामध्ये केही पर्यटकले बस्ने समय थपेका छन् भने केहीले छोट्याएर गरेका फर्किइसकेको व्यवसायी सोम थापाले बताए ।

नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा चीनमा देखिएको कोरोना भाइरससँगै अन्नपूर्ण क्षेत्रमा देखिएको हिमपहिरोले चिनियाँसँगै अन्य मुलुकका पर्यटकको आगमन दर पनि निकै न्यून छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पोखराका अध्यक्ष हरि भुजेलले अन्नपूर्ण हिमपहिरो र कोरोना भाइरसको त्राससँगै कतिपय पर्यटकले बुकिङ नै रद्द गर्न थालेको बताए । उनले भने, ”नेपाल भ्रमण वर्ष २०२० लाई समेत यो भाइरसले असर गर्ने प्रस्ट सङ्केत देखिएको छ ।”

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार ०६:४६