१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

प्रदेश ५ का प्रदेशसभा सदस्यबाट पारिश्रमिक र सुविधा अपर्याप्त भएको गुनासो


२५ वैशाख, रुपन्देही । प्रदेश नं ५ का प्रदेशसभा सदस्यले आफ्नो पारिश्रमिक तथा सुविधा अपर्याप्त भएको गुनासो गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा प्रदेशसभा नियमावली, २०७४ को नियम १०७ बमोजिम प्रदेश नं ५ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकमाथि सैद्धान्तिक छलफल गर्दै उनीहरुले मर्यादाक्रमका आधारमा मात्रै सेवा सुविधा आउनुपर्नेमा जोड दिए ।

नेकपा (माओवादी केन्द्र) संसदीय दलका सचिव तुलाराम घर्तीमगरले प्रदेशसभा सदस्यका लागि आएको पारिश्रमिक सेवा सुविधा विभेदपूर्ण भएको टिप्पणी गरेका छन् ।

प्रदेशसभा सदस्य रामजी घिमिरेले प्रदेशसभा सदस्यको स्वकीय सचिवको विषय साझा माग भएको उल्लेख गर्दै प्रतिनिधिसभा सदस्यपछि प्रदेशसभा सदस्यको मर्यादाक्रम हुनुपर्ने बताएका छन् ।

अर्का सदस्य रमा अर्यालले प्रदेशसभा सदस्यको मर्यादाक्रम नमिलेको उल्लेख गर्दै कर्मचारीले सरकार चलाउने होइन भनेका छन् ।

प्रदेशसभा नियमावली २०७४ को नियम १०७ बमोजिम प्रदेश नं ५ का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेकमाथि उठेका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले मर्यादाक्रम सच्चाउने विषयमा पहल गर्ने आश्वासन दिँदै अहिले हामीलाई जनताले निगरानी गरिरहेको र जनताको मनोभावना पनि बुझनुपर्ने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार १८:१०