१८ असार २०८१, मंगलवार | Tue Jul 2 2024

बूढीगण्डकीे जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु गरिँदैः धादिङ, गोरखाको २७ गाविस प्रभावित


२५ वैशाख, काठमाडौँ । सरकारले बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया शुरु गर्दै आगामी आर्थिक वर्ष २०७५÷७६ मा ठेक्का प्रक्रिया अगाडि बढाउने भएको छ । जसबाट धादिङ र गोरखाको २७ गाविस प्रभावित हुनेछन् ।

लामो समयदेखि आयोजना कसरी निर्माण गर्ने भन्नेबारेमा अन्योल रहेको बेला सरकारले ठेकेदार छनोट गर्ने तयारी गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री वर्षमान पुनले भने “आगामी आर्थीक वर्षमा नै आयोजनाको निर्माण प्रक्रिया शुरु गर्ने गरी आवश्यक तयारी गरिएको छ ।” कूल एक हजार २०० मेगावाट क्षमताको सो आयोजना पूर्ववर्ती सरकारले नेपाली लगानीमा नै निर्माण गर्ने निर्णय गरेको थियो ।

आयोजनालाई लगानीयोग्य बनाउन करीब रु एक खर्ब अनुदान दिने निर्णयसमेत पूर्ववर्ती सरकारले गरेको थियो । आयोजनाका लागि चालू आर्थीक वर्षमा रु १० अर्ब बजेट विनियोजन गरिएकामा त्यसबाट स्थानीय प्रभावितलाई मुआब्जा वितरणलगायतको काम जारी रहेको छ । यस्तै नेपाल आयल निगमले आयोजनाका लागि भन्सार बिन्दुमा नै लगाएको पूर्वाधार करबाट हालसम्म र १८ अर्ब रकम जम्मा भइसकेको छ ।

आयोजनाको कूल लागत रु दुई खर्ब ७३ अर्ब रहेको छ । पत्रकार सम्मेलनमा मन्त्री पुनले आयोजना अरु कुनै विदेशी कम्पनी वा निकायलाई दिनेबारे आफूले कुनै निर्णय नगर्ने बताए ।

आयोजनाबाट धादिङ र गोरखाका साविकका २७ गाविस प्रभावित हुनेछन् । धेरैजसो प्रभावित क्षेत्रको मुआब्जाका बारेमा निर्णय भए पनि धादिङको खहरे बजार र गोरखाको आरुघाट बजारको भने हालसम्म मुआब्जा निर्धारण हुन सकेको छैन । ती स्थानको शीघ्र मुआब्जा निर्धारण तथा अन्य क्षेत्रको मुआब्जा वितरण प्रक्रिया अगाडि बढाउन माग गर्दै स्थानीयवासीले आग्रह गर्दै आएका छन् ।

सरकारले आगामी आर्थीक वर्षकालागि आयोजनामा रु १८ अर्ब बजेट उपलब्ध गराउने प्रस्ताव गरेको जनाइएको छ । मन्त्री पुनले आयोजना तयारी अवस्थामा रहेकाले निर्माण शुरु गरिने विश्वास दिलाए ।

प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार १७:००