१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

१५ माघ, काठमाडौं कहिले नेतालाई सित्तैमा दूध र दुग्धजन्य पदार्थ वितरण त कहिले दूधमा भ्रष्टाचार गरी अनियमिततामा मुछिरहने दुग्ध विकास संस्थान (डीडीसी) बाट पछिल्लो समयमा डेढ करोड रुपैयाँको विभिन्न उत्पादन गायब भएको छ । पछिल्लोपटक डीडीसीअन्तर्गतको बालाजु आयोजनाबाट एक करोड ५८ लाख ५२ हजार पाँच सय मूल्यबराबरको अर्धतयारी घिउ, धुलो दूध र तयारी घिउ हिनामिना भएको तथ्य फेला परेको हो ।

डीडीसीको आन्तरिक लेखा परीक्षण विभाग (आलेप) ले भौतिक मौज्दात परीक्षण गरी प्रतिवेदन बुझाएको दुई महिना बितिसक्दा पनि दोषी कर्मचारीमाथि कारबाही गर्नुको साटो पुरस्कृत गरिएको छ । डीडीसीले अध्ययन प्रतिवेदनसमेत गुपचुप राखेको खबर अन्नपूर्ण पोस्टमा छ । डीडीसी स्रोतका अनुसार बालाजु आयोजनाबाट ५६ लाख मूल्यको सात हजार किलो अर्धतयारी घिउ (फ्याट) गायब पारिएको छ ।

यस्तै सोही आयोजनाबाट ९४ लाख ८७ हजार पाँच सय मूल्यको १६ हजार पाँच सय किलो धुलो दूध तथा सात लाख ७५ हजार मूल्यको नौ सय किलो तयारी घिउ हिनामिना भएको छ ।

अर्धतयारी घिउको बजार मूल्य प्रतिकिलो आठ सय रुपैयाँ, ठोस पदार्थको प्रतिकिलो पाँच सय ७५ र तयारी घिउको बजार मूल्य करिब आठ सय ५० रुपैयाँ पर्छ । डीडीसीका महाप्रबन्धक वैकुण्ठ अधिकारीले समेत बालाजु आयोजनाबाट ‘केही उत्पादन ठूलो परिमाणमा कमी भएको’ अवस्थामा फेला परेको स्वीकार गरे ।

प्रकाशित मिति : १५ माघ २०७६, बुधबार ०७:१०