कहिले उठ्ला उखु किसानको ३४ करोड ?
१५ माघ, नवलपरासी । नवलपरासीका चिनी उद्योगले उखु उत्पादक किसानको ३४ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ । उद्योगले राजनीतिक संरक्षणमै भुक्तानी नदिँदा उखु उत्पादक किसानहरु मर्कामा परेका छन् ।

चिनी उद्योगहरूले उखुको रकम भुक्तानी गर्ने भन्दै बारम्बार सम्झौता गर्ने तर त्यसको पालना नगर्ने गरेका कारण अहिले नवलपरासीको कुडियास्थित इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालिले १४ करोड, सुनवलस्थित लुम्बिनी चिनी उद्योगले ९ करोड एवं सुस्तास्थित बाग्मती खाडसारी तथा चिनी उद्योगले ११ करोड गरी तीन चिनी उद्योगले किसानको जम्मा ३४ करोड रुपैयाँ तिर्न बाँकी रहेको नवलपरासी उखु उत्पादक किसान संघका अध्यक्ष उमेश यादवले बताए ।
गत दुई वर्षदेखि यी उद्योगले ठूलो रकम तिर्न बाँकी राखेपछि प्रतापपुर गाउँपालिकाको कुडियास्थित इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालिको गेटमा किसानले तीन सातादेखि अनशन बसेका छन् । तर सम्बन्धित निकायले सुनुवाइ नगरेपछि अनशनरत किसानले अहिले चिनी उद्योगबाट निस्कने गेटबाहिरको सडकै भत्काइदिएका छन् । आक्रोशित किसानले उद्योगको गेटबाहिर कुनै पनि सवारीसाधन निस्कन नमिल्ने गरी ठूलो खाल्डो खनेको स्थानीय लख्खु यादवले बताए ।
प्रतापपुर गाउँपालिकास्थित इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रिज प्रालिले करिब सात हजारभन्दा बढी किसानको पाँच हजारदेखि १५ लाख रुपैयाँसम्म गरी १४ करोड रुपैयाँ तिर्न बाँकी रहेको अध्यक्ष यादवले बताए । उनका अनुसार सुनवलस्थित लुम्बिनी चिनी उद्योग एवं इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्रीका सञ्चालक अहिले सम्पर्कविहीन छन् ।
ठूला र प्रभावशाली केही किसानले उद्योगीलाई दबाब सिर्जना गरी वा तालाबन्दी गरी केही रकम पाए पनि सामान्य र गरिब किसानले ऋण लिएर गरेको उत्पादन गरेको उखुको रकमसमेत नपाएको पीडित धर्मेन्द्र कुशवाहले बताए । पश्चिम नवलपरासीमा सानाठूला दुई सयभन्दा बढी खाडसारी रहेको खबर गोरखापत्र दैनिकमा छ ।
किसान सडकमा
दुई वर्षदेखि उखुको भुक्तानी नपाएका नवलपरासीका उखु किसान आन्दोलनमा उत्रिएका छन् । चिनी उद्योगहरूले सरकारसँग भएको सहमति कार्यान्वयन नगरेपछि उखु किसानहरू मङ्गलबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।
नवलपरासी उखु उत्पादक कृषक समिति अध्यक्ष उमेश यादवले प्रेस विज्ञप्ति जारी गर्दै मङ्गलबारदेखि चरणबद्ध रूपमा आन्दोलनमा उत्रिएको जानकारी गराए ।
प्रकाशित मिति : 06:55







