१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

विद्युत् महसुल परिवर्तनको तयारी : १० युनिटसम्म निःशुल्क

१४ माघ, काठमाडौं ।  नेपाल विद्युत् प्राधिकरणले हाल कार्यान्वयनमा रहेको विद्युत् महसुल दरमा परिवर्तन गर्नेभएको छ । प्राधिकरण सञ्चालक समितिको आइतबार बसेको बैठकले नयाँ दर स्वीकृत गर्दै विद्युत् नियमन आयोगमा स्वीकृतिका लागि पेस गर्ने निर्णय गरेको हो । प्राधिकरणले यसका लागि आज (मंगलबार) विद्युत् नियमन आयोगमा प्रस्ताव पठाउँदै छ ।

प्रस्तावित दर अनुसार १० युनिटसम्म निःशुल्क हुने व्यवस्था गर्न लागिएको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले जानकारी दिए । अहिले पनि १० युनिटसम्म विद्युत् खपत गर्ने ग्राहकको सङ्ख्या आठ लाख रहेको बताइएको छ ।

प्राधिकरण सञ्चालक समिति अध्यक्षसमेत रहेका मन्त्री पुनका अनुसार महसुल दर विभिन्न आठ श्रेणीमा विभाजन गरिएको छ । गार्हस्थ्य उपभोक्तालाई विद्युत् खपत बढी गराउन प्रेरित गर्ने गरी नयाँ महसुल दर तय गर्न लागिएको खबर गोरखापत्र दैनिकमा छ । तर ११ युनिटदेखि माथिको दर बढी तोकिएको छ । तर यस्तो दर खपत बढ्दै जाँदा घट्दै जाने प्रणाली कार्यान्वयन गर्न लागिएको छ ।

प्राधिकरणले प्रस्ताव गरेको नयाँ दर ११ युनिटदेखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि १५० र १५१ देखि २००, २०१ देखि ४०० र ४०० देखि माथि गरी आठ श्रेणीमा विभाजन गरिएको छ । गार्हस्थ उपभोक्तालाई विद्युत् खपत बढी गराउन प्रेरित गर्ने गरी नयाँ महसुल दर तय गर्न लागिको हो । प्राधिकरण सञ्चालक समितिले पारित गरेको प्रस्तावमा गार्हस्थ उपभोक्तालाई खपत युनिटका आधारमा धेरै खपत गर्दा कम दर लाग्ने गरी पाँच तहका दर निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ०६:३६