१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्राथमिकतामा जलाशययुक्त सुनकोसी -३

१४ माघ, काठमाडौं । काभ्रेको तिमाल गाउँपालिका र रामेछापको सोनापानी गाउँपालिकाको सिमानामा बनाउन प्रस्ताव गरिएको जलाशययुक्त सुनकोसी -३ जलविद्युत् आयोजनालाई सरकारले प्राथमितामा राखेर अगाडि बढाउने भएको छ । मुख्य लोड सेन्टर राजधानी काठमाडौंनजिक बनाउन खोजिएको आयोजनाको विस्तृत सम्भाव्यता अध्ययनको तयारी पनि थालिएको छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले सुनकोसी २ र ३ मध्ये ३ तुलनात्मक हिसाबले सस्तो पर्ने भन्दै यसैलाई प्राथमिकतामा राख्ने जनाएको खबर गोरखापत्र दैनिकमा छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बस्ती विस्थापन तथा अन्य हिसाबले २ भन्दा ३ हाललाई बढी उपयुक्त र सहज देखिएको बताए ।

आयोजनाको बाँध तिमाल गाउँपालिका लुभुघाट र रामेछापको सोनापाती गाउँपालिकाको सीमामा निर्माण हुनेछ । सुरुमा ५३६ मेगावाट क्षमतामा बन्ने पहिचान गरिएको सो आयोजना अब ६४० मेगावाट क्षमतामा बन्ने विभागको अध्ययनले देखाएको छ । सुनकोसी–३ को पहिचान तथा प्रारम्भिक अध्ययन जापानी सहयोग नियोग (जाइका) सन् १९८५ मै गरेको थियो । सम्भाव्यता अध्ययन आगामी मङ्सिरसम्म सकिने र उक्त आयोजना बन्ने निश्चित भइसकेको मन्त्री पुनको भनाइ छ ।

जाइकाको अध्ययनले यो आयोजना साबिकको मदनकुडारी गाविसको पार्सेल नजिकैबाट एक सय ४० मिटरको बाँध बनाएर ५३६ मेगावाट विद्युत् उत्पादन गर्न सकिने औँल्याएको थियो । तर विद्युत् विकास विभागले गरिरहेको पछिल्लो अध्ययनले यो आयोजनाबाट ६४० मेगावाट विद्युत् उत्पादन हुनसक्ने देखिएको छ । परामर्शदाता कम्पनी चीनको जेभी अफ साङ्घाई इन्भेस्टिगेसन, डिजाइन एन्ड रिसर्च इन्स्टिच्युट (सीआईडीआरआई) र नेपालको इन्भायरोमेन्ट एन्ड रिसोर्स म्यानेजमेन्ट कन्सल्ट्यान्टले संयुक्त रूपमा २०७४ वैशाखदेखि अध्ययन गरिरहेका छन् । विभागका महानिर्देशक नवीन सिंहले आगामी मङ्सिरसम्ममा अध्ययन सकिने बताउँछन् ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ०६:२९