१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अब श्रमिकको बिमा अनलाइनबाटै

१४ माघ, काठमाडौं । श्रम स्वीकृतिका लागि बिमाबापत तिर्नुपर्ने प्रिमियम रकम अनलाइनबाट तिर्न सकिने प्रणाली सुरु भएको छ । योसँगै विदेशबाटै पुनः श्रम स्वीकृति लिने बाटो पनि खुलेको हो ।

वैदेशिक रोजगारीमा जाने श्रमिकको म्यादी जीवन बिमा अनलाइनबाटै भुक्तानी गर्न सकिने गरी वैदेशिक रोजगार विभाग र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच आइतबार सम्झौता भएको छ । सम्झौतासँगै विदेशमा रहेका नेपाली दूतावासबाटै पनि पुनः श्रम स्वीकृति लिने बाटो खुलेको हो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड पहिलो अनलाइन बिमा भुक्तानी कम्पनी बनेको खबर गोरखापत्र दैनिकमा छ ।

बिमा कम्पनी अनलाइन प्रणालीमा आएसँगै कम्पनीका जुनसुकै शाखाले बिमा पोलिसी जारी गर्न सक्नेछ र अब श्रम तथा रोजगार कार्यालयको वरिपरि रहेको बिमा कम्पनीको कार्यालयसम्म धाउनु बाध्यताको पनि अन्त्य भएको छ । विभागले मंसिर १५ देखि माग प्रमाणीकरण र श्रमिक छनोट अनलाइन प्रणाली सुरु गरेको थियो । बिमा कम्पनीले यस प्रणालीमा आउन आनाकानी गरेकाले केही ढिला भएको थियो ।

बिमा कम्पनी यस प्रणालीमा आएसँगै सहज भएको छ । बिमा कम्पनीले विभागसँग सम्झौता गरेका अनलाइन भुक्तानी सेवा प्रदायक सञ्चालकसँग सम्झौता गरी वैदेशिक रोजगार म्यादी बिमा विद्युतीय माध्यमबाट जारी गर्ने तथा बिमा नवीकरण गराउनुका साथै सोको भुक्तानीको व्यवस्था मिलाउने छ ।

अब सेवाग्राहीले बिमाको जानकारी सोझै वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा गराउनुपर्नेछ । अबको एक साताभित्र यो सेवा प्रारम्भ गरिसक्नुपर्नेछ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले बिमा कम्पनी अनलाइन प्रणालीमा आउने सुरुवात भएसँगै श्रमिकलाई विदेशमा रहेका नेपाली दूतावासमार्फत पुनः श्रमस्वीकृति लिने बाटो खुलेको बताए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ०६:१२