सबैको आयु थप्दा थप्दै आफ्नै आयु… (डा. उपेन्द्र देवकोटामा नाममा लेखिएको कविता)
–गणेश आचार्य
सबैको आयु थप्दा थप्दै
आफ्नै आयु रित्तिएको
सायद हजुरलाई पत्तै भएन
प्रिय मान्छे र सोझो रुख
छिट्टै काटिन्छ भन्थे, हो रहेछ
सबैलाई बचाउन सक्ने तपाई
आफैलाई बचाउन नसक्दा खेरी
Medical विज्ञानले नै हारेको हो की
जस्तो आभाष हुने रहेछ ।
आफ्नै मृत्यु पर्खेर बस्नु
चोकमा साथी कुरेको जस्तो पक्कै हुदैन
Expired Date लेखिएको अौषधी जस्तै
हजुरको Expired Date तोकिएको खबरले
हाम्रो पनि मन मुटु झसङ्ग हुन्छ
हजुरलाई झन कस्तो महसुश भयो होला ।
हजुरलाई देख्ने बित्तिकै , आधा रोग
सन्चो भएको अनुभुति गर्नेहरुको
हृदय झन कति छिया-छिया भए होला ।
मलाई अचेल यस्तै लाग्न थालेको छ
यो लोक भन्दा पर अर्को कुनै लोक हुनसक्छ
त्यहाँ पनि शोक, भोक र रोग हुनसक्छ
सायद त्यहाँ हजुरको अभाव खड्कियो होला
त्यसैले त भगवान यति छिट्टै लिन आउदैछन्
त्यो पनि पूर्व जानाकारी सहित ।
डा. साब आत्मबल कमजोर नबनाउनु होला
हजुरलाई लिन आउने भगवान पनि
अजम्बरी हुदैनन् भन्ने सुनेको छु
चमत्कारको आशा अझै मरेको छैन
हिमालको देशमा संजीवनीको कमि हुने छैन
आशिर्वादहरुको खडेरी हुने छैन
त्यस माथि तपाई आफै डाक्टर
रोगसँग हारे भन्ने अधिकार पनि त छैन ।
हृदयमा आशाको दियो बलिरहने छ
डा. साब हजुरलाई स्वास्थ्य लाभको कामना छ ।
हजुरले बचाएको एउटा प्राण
हाल इटली ।
प्रकाशित मिति : २५ बैशाख २०७५, मंगलवार १०:१६












