१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

कतारपछि धेरै रेमिट्यान्स भारतबाट

१३ माघ, काठमाडौं । भारतबाट अनौपचारिक माध्यमबाट नेपाल भित्रिने पैसा औपचारिक रूपमै आउन थालेपछि पछिल्लो समय दक्षिणी छिमेकबाट आउने विप्रेषण बढ्न थालेको छ । पछिल्लो समय नेपाली रेमिट्यान्स कम्पनीले भारतबाटै सेवा प्रदान गर्दै आएका छन्, जसको फलस्वरूप पछिल्लो समय कुल विप्रेषण आप्रवाहमा भारतको अंश पनि बढ्दै गएको देखिन्छ ।

गत आव ०७५/७६ मा भारतबाट १ खर्ब २८ अर्ब विप्रेषण नेपाल भित्रिएको छ । जुन कुल विप्रेषण आप्रवाहको १४ दशमलव ६२ प्रतिशत अंश हो । गत आवमा नेपालमा ८ खर्ब ७९ अर्ब विप्रेषण भित्रिएको थियो । आव ०७४/७५ मा कुल विप्रेषण आप्रवाहमा भारतको १३ दशमलव ३८ प्रतिशत अंश रहेको खबर आर्थिक अभियान दैनिकमा छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको ‘नेपालमा विप्रेषण आप्रवाहको स्थिति’ प्रतिवेदनअनुसार चालू आवको पहिलो चौमासमा नेपालमा विप्रेषण पठाउने मुलुकमध्ये भारत दोस्रो स्थानमा छ । पहिलो चौमासमा भारतबाट ४३ अर्ब १६ करोड नेपाल भित्रिएको छ, जुन समीक्षा अवधिमा भित्रिएको कुल विप्रेषणको १४ दशमलव २ प्रतिशत अंश हो ।

पहिलो स्थानमा रहेको कतारदेखि भने पहिलो चौमासमा ५३ अर्ब ९३ करोड आएको छ । कुल विप्रेषणमा कतारको हिस्सा १७ दशमलव ७ प्रतिशत छ । तथ्यांकअनुसार कुल विप्रेषणमध्ये खाडी मुलुकहरूको अंश ५० दशमलव ३ प्रतिशत छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०७:१०