१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अघिअघि ब्रुमर, पछिपछि टिपर

१२ माघ, काठमाडौं । राजधानी काठमाडौंका सडकको धूलो सफा गर्न हरेक रात ५ ब्रुमर परिचालन गरिन्छन् । साँझ ८ बजेबाट सुरु हुने सरसफाइबाट केही मुख्य सडक चिल्ला र रहर लाग्दा भएका पनि छन् । तर निर्माण सामग्री ओसारपसार हुने क्षेत्रका सडकको हविगत भने सफा गरेकै केही बेरमा फोहोर हुने गरेको छ ।

काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार बालुवा, गिटी, ढुङ्गासहितका निर्माण सामग्री बोक्ने टिपर र ब्रुमरको सफाइको प्रतिस्पर्धा रातमा चल्ने गर्छ । ‘एउटा टिपरले झार्दै गरेको धूलो सफा गर्दै ब्रुमर अगाडि बढ्छ, पछाडि आइरहेको अर्को टिपरले धूलो झार्दै आउँछ,’ उनले भने । मुख्य नाकाका सडकबाट सुरु हुने यो प्रतिस्पर्धा राजधानीको मुटुसम्म रातमा सधैं हुने गरेको खबर गोरखापत्र दैनिकमा छ । काठमाडौं महानगर भएर गुड्ने टिपरको सङ्ख्या अहिले तीनदेखि चार सयजति छ ।

‘हामीले रातभरि धूलो बढार्छौं तर टिपरलगायत भित्र चउरमा पार्क हुने सवारीसाधनले हिलो र धूलो सडकमा ल्याउने क्रम घटेको छैन,’ उनले भने । उनका अनुसार नागढुङ्गा सडकबाट उपत्यका छिर्ने टिपर, भक्तपुर र ललितपुरबाट काठमाडौँ आउने टिपरले बढी बालुवा सडकमा थुपारेका छन् । टुँडिखेललगायत खुला स्थानमा हुने विभिन्न कार्यक्रमका क्रममा भित्र चउरमा पार्किङ गरिएका सवारी साधनका चक्काले माटो, हिलो बोकेर मुख्य सडकमा खसाल्दा पनि सडकको धूलो निखार्न ब्रुमरलाई गाह्रो परेको छ ।

सवारीसाधन व्यवस्थित तुल्याउन भूमिका खेल्ने ट्राफिक प्रहरीको जाँच रातमा कमजोर रहँदा टिपरले जथाभावी ढुवानी गरिरहेको आरोप स्थानीयको छ । पछिल्लो समय रातमा जाँचसमेत त्यति नहुँदा टिपर चालकको मनोबल बढेको छ ।

दिउँसो टिपर चलाउन दिँदा अत्यधिक गतिका कारण धेरै दुर्घटना हुन्छन् । सवारी व्यवस्थापनमा असर पर्छ । यस्ता विभिन्न घटनालाई ध्यान दिँदै रातमा मात्र निर्माण सामग्री ओसारपसार गर्ने टिपर चलाउन अनुमति दिइएको ट्राफिक प्रहरीका प्रवक्ता जीवनकुमार श्रेष्ठको भनाइ छ ।

उनका अनुसार राति ८ बजे उपत्यकाभित्र प्रवेश गर्ने र बिहान ७ बजे टिपर थन्क्याउने नियम लगाइएको छ । दिउँसो काम गर्न नपाउँदा धेरै ढुवानी गर्न नसकिएको र आम्दानी कम भएको झोँकमा केहीले मापदण्डविपरीत टिपर चलाएका हुन सक्छन् । त्यस्ता चालक फेलापरे कारबाही पनि गरिरहेको श्रेष्ठको भनाइ छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आईतवार ०६:३८