१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

४० करोडको वैदेशिक रोजगार बचतपत्र निष्कासन

११ माघ, काठमाडौं । के तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ वा के तपाईं भर्खर मात्र फर्किनुभएको हो ? यदि त्यसो हो र तपाईंले दुःख गरेर कमाएको रकमलाई सुरक्षित लगानी गर्न चाहनुभएको छ भने नेपाल राष्ट्र बैङ्कको बचतपत्र खरिद गर्न सक्नुहुन्छ ।

राष्ट्र बैङ्कले शुक्रबार मात्र ४० करोड रुपैयाँको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको छ । पाँच वर्षे अवधिका लागि ल्याइएको यो बचतपत्रमा १० प्रतिशत ब्याजदर तोकिएको छ । ब्याज अर्धवार्षिक रूपमा बचतकर्तालाई उपलब्ध गराइने नेपाल राष्ट्र बैङ्कको राष्ट्र ऋण व्यवस्थापन विभागले जनाएको खबर गोरखापत्र दैनिकमा छ ।

राष्ट्र बैङ्कले वैदशिक रोजागारीमा गएका र गैरआवासीय नेपालीको पुँजीको सुरक्षित परिचालनका लागि पटक–पटक यस्तो बचतपत्र निष्कासन गर्ने गरे पनि अपेक्षित रूपमा भने त्यो बिक्री हुन सकिरहेको छैन । गत आर्थिक वर्षमा भने सरकारले वैदेशिक रोजगारीमा जानेका लागि यस्तो बचतपत्र निष्कासन गरेको थिएन । त्यसअघि लगातार नौ वर्षसम्म यस्ता बचतपत्र निष्कासन गर्दा जम्मा ११ अर्ब रुपैयाँको मात्र बिक्री भएको थियो ।

चालु आवमा सरकारको मौद्रिक नीतिमा पनि वैदेशिक रोजगारमा गएका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरूको पुँजी परिचालनका बचतपत्र निष्कासन गर्ने नीति लिएपछि राष्ट्र बैङ्कले पटक–पटक बचतपत्र निष्कासन गरेको नेपाल राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । राष्ट्र बैङ्कले गत पुसमा पनि २० करोड रुपैयाँको बचतपत्र निष्कासन गरेको थियो । २१ दिनका लागि मात्र खुल्ला गरिएको उक्त निष्कासन रकममध्ये १९ लाख २० हजार रुपैयाँको बचतपत्र मात्र बिक्री हुन सकेको थियो ।

शुक्रबारदेखि खुल्ला गरिएको बचतपत्र आगामी चैत २१ गतेसम्म खरिद गर्न सकिनेछ । यसको निष्कासन मिति माघ २७, फागुन २८ र चैत २७ गते हुने राष्ट्र बैङ्कले जनाएको छ । यो बचतपत्रमा लगानीकर्ताले न्यूनतम १० हजार रुपैयाँ र बढीमा १० हजार रुपैयाँले निःशेष भाग जाने रकम आह्वान गर्न सक्ने राष्ट्र बैङ्कले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार ०६:२३