१२ असार २०८१, बुधबार | Wed Jun 26 2024

बालबालिकालाई शिक्षा दिन विशेष भर्ना अभियानः प्रधानमन्त्री ओली


२४ वैशाख, काठमाण्डौँ । काठमाण्डौमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सिक्दै गरेको पुस्ता र सिकाइको तरिका’ सम्बन्धी दक्षिण एशिया क्षेत्रीय उच्चस्तरीय बैठकको आज उद्घाटन गरेका छन् ।

तीनदिने उच्चस्तरीय बैठकमा यस क्षेत्रका नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान, भारत, मालदिभ्स, पाकिस्तान र श्रीलंकाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

बैठकमा सबै बालबालिकालाई विद्यालय पढ्न पाउने अवसर कसरी सिर्जना गर्ने र विद्यालय भर्ना भएका ती बालबालिकालाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल हुनेछ । यस क्षेत्रका ५–१४ उमेर समूहका तीन करोड बालबालिकाले अझै विद्यालयमा प्रवेश पाएका छैनन् ।
युनिसेफका अनुसार यस क्षेत्रका प्राथमिक तहको शिक्षा लिनबाट एक करोड बालबालिका वञ्चित छन् भने दुई करोड बालबालिकाले सो भन्दामाथिको माध्यमिक शिक्षासमेत पाउँदैनन् ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबै बालबालिकालाई विद्यालय शिक्षा लिन सक्ने वातावरण मिलाउन नेपाल सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिए ।
बालबालिकालाई विद्यालयमा शिक्षा दिन विशेष भर्ना अभियान नै सञ्चालन गरिराखेको जानकारी दिँदै उनीहरुले आफ्नो अध्ययनलाई निरन्तरता दिनसक्ने वातावरणसमेत मिलाइएको बताए ।

गुणस्तरीय शिक्षा पाउनु बालबालिकाको मौलिक अधिकार नै रहेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले दक्षिण एशियाका क्षेत्रमा गरिबीको असर शिक्षा क्षेत्रमा परेकाले गरिबी निवारणमा जोड दिन आग्रह गरेका छन् ।

दिगो विकासको लक्ष्य प्राप्तिका लागि सूचना प्रविधिको प्रयोग र अनुसन्धानमा जोड दिनुपर्ने प्रधान मन्त्रीले बताए ।

प्रकाशित मिति : २४ बैशाख २०७५, सोमबार १४:२३