१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

६ माघ, बैतडी स्थानीय सरकारले लगाएको करको सास्तीमा सर्वसाधारण पर्न थालेका छन् । स्थानीय सरकारले सडकमा ढाट तेर्स्याएर पशु निकासीमा चर्को कर असुल्न थालेका हुन् ।

त्यसरी लगाइएको कर खसीबोकामा सय रुपैयाँ, राँगाभैँसी र तरकारीमा ५ सय रुपैयाँ छ । स्थानीय सरकारले निकासी कर लिन ठाउँठाउँमा ठेक्का दिएको खबर गोरखापत्र दैनिकमा छ ।

ठेकेदारले खसीबोका र राँगाभैँसी देख्नेबित्तिकै सडकमा तेर्स्याएको ढाटको डोरी तानेर सडक बन्द गर्छन् । खसीबोका र राँगाभैंसी गनेर खनखनी पैसा लिएपछि मात्र ढाट खुल्छ । पाटन नगरपालिका र दोगडाकेदार गाउँपालिकाले कार्यपालिकाबाट निर्णय गरेरै खसीबोका हिँडाएको निकासी कर लिन थालेको हो ।

पाटन नगरपालिकाले दशरथचन्द मार्गको अनार खोली र दोगडाकेदार गाउँपालिकाले महाकाली मार्गको सिल्लेगाडा सडकमा ढाट राखेका छन् । नगरपालिका भएर जाने खसीबोका र राँगाभैंसीमा निकासी कर लिने नगर कार्यपालिकाको निर्णयअनुसार कर लिने गरेको पाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल महराले बताए ।

दोगडाकेदार गाउँपालिकाले खसीमा सय र राँगाभैंसीमा ५ सय रुपैयाँका दरले कर लिने निर्णय गरेर ठेकेदारलाई ३ लाख रुपैयाँमा ठेक्का दिएको छ । २०७६ साउनदेखि पुससम्म डेढ लाख रुपैयाँ कर असुल भएको दोगडाकेदार गाउँपालिकाका कर्मचारी अम्बादत्त जोशीले जानकारी दिए ।

प्रतिकात्मक तस्बिर ।

पाटन नगरपालिकाले लगाएको अनार खोली ढाटमा तरकारीको समेत निकासी कर तिर्नुपरेको किसानले गुनासो गरेका छन् । गाउँगाउँबाट तरकारी सङ्कलन गरेर जिल्लाबाहिर पठाउँदै आएका किसान केशवदत्त भट्टले एक गाडी तरकारी निकासी गर्दा ५ सय रुपैयाँ कर तिर्नुपरेको बताए । तरकारीमा अन्त कतै कर छैन, बैतडीमा मात्रै कर तिर्नुपर्ने बाध्यता रहेको भट्टको गुनासो छ ।

बाख्रापलन गर्न किसानले फर्म दर्ताको सिफारिस माग्दासमेत स्थानीय सरकारलाई एक हजार रुपैयाँ कर तिर्नुपरेको पाटन नगरपालिकाका प्रेम भाटले बताए । उनले स्थानीय सरकारले ढुंगा, बालुवा, काठ निकासी र सल्लाको खोटोमा कर लिनु स्वाभाविक भए पनि किसानलाई नै मर्का पर्ने गरी कर लिन थालिएको बताए ।

स्थानीय सरकारले खसीबोका र राँगाभैंसीमा कर लिन थालेपछि व्यापारीले किसानलाई करको मूल्य घटाएर खसीबोका किन्न थालेपछि किसान मर्कामा परेको गुनासो गर्न थालेका छन् । खसीबोका बेच्दा व्यापारीले कर पनि तिर्नुपर्छ, अलि घटाएर मूल्य भन्नुहोस् भन्दै मूल्य घटाउने गरेको किसानले बताएका छन् ।

पञ्चेश्वर गाउँपालिकाबाट खसी किनेर शिवनाथ गाउँपालिका ल्याउँदा बाटोमा पर्ने वडा कार्यालयले खसीको ६ सय रुपैयाँ कर लिएको भन्दै कर फिर्ता गरिदिन विक्रमसिंह धनाडीले निवेदन दिएको ४ महिना भयो तर अहिलेसम्म फिर्ता पाएका छैनन् ।

शिवनाथ गाउँपालिका ६ का विक्रमसिंह धनाडीले ६ वटा खसी किनेर ल्याउँदा पञ्चेश्वर गाउँपालिका ३ को वडा कार्यालयले प्रतिखसीमा सय रुपैयाँका दरले कर लिन थालेपछि धनाडीले खसी किन्ने कारोबारै बन्द गरे । खसीमा कर लिएको समाचार प्रकाशित भएपछि पञ्चेश्वर गाउँपालिकाले निकासी कर लिन छाडे पनि किसानबाट लिएको कर भने फिर्ता गरेको छैन ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार ०६:५५