१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

टिंकर जोड्ने सडक निर्माण तीव्र

६ माघ, काठमाडौं कालापानी क्षेत्रलाई सडक सञ्जालसँग जोड्न ब्रह्मदेव-­झुलाघाट-­दार्चुला-­टिंकर सडक निर्माणलाई तीव्रता दिइएको छ । कञ्चनपुरको ब्रह्मदेव बजारदेखि दार्चुलाको टिंकरसम्म निर्माण गर्न लागिएको सो खण्डको ट्र्याक खोल्ने काम तीव्र रूपमा भइरहेको सडक विभागले जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाले पुस १५ गते बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा कालापानीसम्म बाटो बनाउन सरकारले बजेट छुट्ट्याएको जानकारी दिएका थिए ।

सडक विभागका उपमहानिर्देशक शिवहरि सापकोटाले यो सडक निर्माणलाई सुदूरपश्चिमको ‘माइलस्टोन’ आयोजनाको रूपमा अगाडि बढाइएको बताए । उनले भने, “यो सडक निर्माण भइसकेपछि कञ्चनपुरको ब्रह्मदेवदेखि झुलाघाट, दार्चुला, र टिंकर हुँदै कालापानीसम्म पुग्न सहज हुने भएकाले उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको छ ।”

कठिन भूगोल र कडा चट्टानका कारण निर्माण कार्य आशातीत अगाडि बढाउन कठिन भएको बताउँदै उनले विस्फोटक पदार्थको सहायताले काम अगाडि बढाउन नेपाली सेनासँग छलफल भइरहेको जानकारी दिए । टिङ्करपछि कालापानी आउँछ । कालापानीको खोँचमा अहिले भारतीय सेनाको क्याम्प छ । अहिले टिङ्कर भञ्ज्याङको दक्षिणपट्टि नेपाली बस्ती रहे पनि उत्तरतर्फ नेपाली बस्ती छैन । आयोजनाका लागि आव ०७६/७७ मा ३२ करोड ६८ करोड रुपैयाँ विनियोजन गरिएको खबर गोरखापत्र दैनिकमा छ ।

दार्चुला­टिंकर सडक योजनाका प्रमुख अच्युतविलास पन्तले यो सडकमा १२५ किमि ट्र्याक खोल्ने काम भइसकेको जानकारी दिए । महाकाली कोरिडोरअन्तर्गत निर्माण भइरहेको डबल लेनको यो सडकको कञ्चनपुरदेखि टिंकरसम्को दूरी ४२५ किमि छ । उनका अनुसार डडेल्धुरामा ११ किमि, दार्चुलामा ५२ र बैतडीमा ६२ किमि गरी १२५ किमि ट्र्याक खोलिएको हो । यस सडक आयोजनाअन्तर्गत दार्चुलामा २१२, बैतडीमा १४४, डडेल्धुरामा ५८ र कञ्चनपुरमा ११ किमि सडक निर्माण गर्नुपर्छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार ०६:३३