२४ बैशाख २०८१, सोमबार | Mon May 6 2024

हिमपहिरोमा परेका सय बढी पर्यटकको उद्धार, १० जना सम्पर्कविहीन


५ माघ, पोखरा हिमपहिरोमा परेर अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्ग र थोरङपासमा नेपाली र विदेशी पर्यटक गरी १० जना सम्पर्कविहीन भएका छन् ।

हिमपहिरोमा परेका विदेशी पर्यटक र नेपाली गाइड अझै सम्पर्कमा आएका छैनन् । हराएका चार कोरियाली र दुई नेपाली गाइड सम्पर्कविहीन भएको त्यही समूहसँगै पदयात्रामा रहेका अर्का एक जना गाइडले बताएका छन् । खोजी र उद्धारका लागि स्थलमार्गबाट गएको टोलीसमेत पहिरोस्थलमा पुग्न सकेको छैन ।

तस्बिर : गोरखापत्र

यता मनाङको थोरङपासमा पदयात्रामा गएका चार चिनियाँ पनि हराएको खबर गोरखापत्र दैनिकमा छ । गत पुस २७ गते थोरङपास गएका चिनियाँ पर्यटक हालसम्म पनि सम्पर्कमा नआएको एक्याप कार्यालयले जानकारी दिएको छ ।

मौसम खुलेपछि पोखराबाट शनिबार बिहान ११ बजेपछि हेलिकप्टरले सय बढी पर्यटकको उद्धार गरेको छ । दिनभर एक सयभन्दा बढी पर्यटकको उद्धार गरी पोखरा ल्याइएको गण्डकी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद शर्मा घिमिरेले बताए । चिनियाँ पर्यटकको दुई समूह पोखरा आइसकेका छन् । ती पर्यटकका अनुसार बाक्लो हिमपातले एबीसी क्षेत्र पूरै ढाकिएको थियो । करिब सय जनाजति एबीसी क्षेत्रमा रोकिएकोमा पालैपालो छोमरोङ झार्ने क्रम जारी छ ।

“साह्रै नै डरलाग्दो हिमपात भयो । बाँच्ने आशासमेत हराइसकेको थियो,” चिनियाँ जुलिया झुले भनिन् । उनका अनुसार विभिन्न देशका पर्यटक अझै पनि एबीसी क्षेत्रमै छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आईतवार ०७:५२