१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अनलाइनले श्रमिकलाई झन् समस्या

४ माघ, काठमाडौं । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफईआईएमएस) मा देखिएको प्राविधिक समस्याले श्रमिकलाई झन् अन्योल बनाएको छ । सर्भरमा बुधबारदेखि देखिएको आंशिक समस्या शुक्रबारसम्म देखिए पनि यसको मर्मतसँगै आंशिक सुधार आएको बताइएको छ ।

विभागको श्रम कार्यालयका अनुसार बुधबार र बिहीबार एक-डेढ घण्टाबाहेक अधिकांश समय सर्भरले कामै गरेन । शुक्रबार बिहान समस्यामा केही सुधार आए पनि दिउँसो खुल्ने र बन्द हुने क्रम भइरहेको थियो तर मर्मतपछि सुधार भई काम भएको बताएको छ ।

सर्भरमा समस्या आउँदा अनलाइनबाट हुने सम्पूर्ण सेवामा असर परेको खबर गोरखापत्र दैनिकमा छ । यसको प्रत्यक्ष मारमा सेवाग्राही परेका छन् । श्रम कार्यालयका अनुसार अहिले दैनिक हजारभन्दा बढीले श्रमस्वीकृति लिने गरेका छन् । सर्भरमा आएका समस्याका कारण आजै टिकट भएका सेवाग्राही मर्कामा परेका छन् ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले ‘तीन दिनदेखि सर्भरमा आएको समस्याले सेवाग्राहीलाई दुःख भएको र सोको मर्मतका लागि विभागलगायत सम्बन्धित निकायको प्राविधिक टोलीले निरन्तर खटिइरहेको, बताए ।

साथै विभागले उडानको मिति एकदमै नजिक भएपछि श्रम स्वीकृतिका लागि आवेदन गर्दा हुनसक्ने प्राविधिक समस्यालाई मध्यनजर गरी उड्ने समय एक साता हुँदै श्रमस्वीकृतिका आवेदन प्रक्रिया पूरा गर्न सेवाग्राहीलाई आग्रह गरेको छ ।

विभागका महानिर्देशक भुसालले अहिले सबै अनलाइनबाट काम हुने सर्भरमा समस्या आउनेबित्तिकै सबै काम रोकिने भएकाले समयमै श्रमस्वीकृतिको प्रक्रिया गर्न आग्रह गरे ।

कार्यालय शनिबार पनि खुल्ने
उनका अनुसार सेवाग्राहीको चापलाई हेरेर शुक्रबार बेलुकी अबेरसम्म श्रम कार्यालयले सेवा प्रवाह गर्नेछ । महानिर्देशक भुसालले सेवाग्राहीको हितलाई ध्यानमा राखेर शनिबार पनि ताहाचलस्थित श्रम कार्यालय ताहाचल खुला गरी सेवा दिइने जानकारी दिए ।

टिकट सार्न व्यवसायीलाई आग्रह
माघ १ देखि नै प्राविधिक समस्या देखिएकाले यसअगाडि नै टिकट बुकिङ गरिसकेका व्यवसायीलाई टिकट पछाडि सार्नसमेत विभागले आग्रह गरिरहेको छ । महानिर्देशक भुसालले सर्भरका कारण सेवाग्राहीलाई कुनै पनि सेवा दिन समस्या भएकाले सिस्टम चलेपछि पहिलो प्राथमिकता टिकट बुक गरेर अन्तिम श्रम स्वीकृति लिन आउनेलाई दिन निर्देशन दिइसकेको जानकारी दिए ।

प्रकाशित मिति : ४ माघ २०७६, शनिबार ०६:२४