२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

समृद्धिका लागि सबैको सहयोग आवश्यकः मुख्यमन्त्री पोखरेल

२३ वैशाख, बाँके । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको समृद्धिका लागि आधुनिक एवं व्यावसायिक खेती तथा प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभएको छ ।

बाँकेको राप्तीपारीस्थित सिद्धेश्वर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले शिक्षा क्षेत्रको योगदानमा बाँकेले अग्रणी भूमिका खेलेको भए पनि साक्षर जिल्ला हुन नसकेकोमा भने खिन्नता व्यक्त गर्नुभयो ।

प्रदेश नं ५ का १२ जिल्लामध्ये बाँके र कपिलवस्तु जिल्ला मात्र पूर्णसाक्षर घोषणा हुन बाँकी रहेका बताउँदै उहाँले प्रदेश सरकारवाट हुने आवश्यक सहयोग यसका लागि रहने विश्वास दिलाउनुभयो । मुख्यमन्त्री पोखरेलले मुलुकमा राजनीतिक विवाद अन्त्य भएको बताउँदै अब विकास र समृद्धिका लागि सबैपक्षको एकता र सहकार्य आवश्यक छ भन्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकबहादुर थारुको अध्यक्षतामा भएको स्वर्णजयन्ती कार्यक्रममा विद्यालय स्थापनादेखि हालसम्म विभिन्न क्षेत्रबाट योगदान पु¥याउनेलाई सम्मान गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

यसैबीच, मुख्यमन्त्री पोखरेलले ‘बघौडा’ भनेर चिनिने बाँकेको विकट नरैनापुर क्षेत्रको मुहार फेर्न आपूm कटिबद्ध रहेको बताउनुभएको छ । बाँकेको नरैनापुर गाउँपालिकाले उहाँको सम्मानमा आज आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले गाउँपालिकाका जनप्रतिनिधिले जनमुखी भएर काम गरेमा थोरै स्रोतसाधनबाट पनि धेरै विकास गर्न सकिन्छ भन्नुभयो ।

सो अवसरमा मुख्यमन्त्री पोखरेललाई गाउँपालिकाका तर्फबाट अध्यक्ष इस्तियाक अहमद शाहले विकाससँग सम्बन्धित विभिन्न माग समेटिएको छबुँदे ज्ञापनपत्र बुझाउनुभएको थियो ।

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार २०:०४