१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

अब बसभित्रै डिजे र बार, पार्टी पनि गर्न सकिने

१ माघ, काठमाडौं । स्वदेशी तथा विदेशी पर्यटकका लागि अतिरिक्त मनोरञ्जनसहित गन्तव्यमा पुग्ने सुविधा भएको पार्टी बस सञ्चालन गरिने भएको छ । बसभित्रै डिजे, बार, धूमपान कक्ष, पेन्ट्री, वाइफाइ, डान्स फ्लोर, एयर कन्डिसन, शौचालय आदिको सुविधा रहेको पार्टी बस पहिलोपटक काठमाडौँ भित्र्याइएको हो ।

रियल इकोनोमिक सस्टेनेबल सोसाइटी नेपाल (रेस नेपाल) ले हालै उक्त बस भित्र्याइएको थियो । मनोरञ्जनको अतिरिक्त सुविधा चाहने पर्यटकलाई लक्षित गर्दै पार्टी बस सञ्चालन गर्न लागिएको कम्पनीका निर्देशक अशोक शर्माले जानकारी दिए ।

पर्यटकका लागि फरक सुविधा तथा जन्मदिनको पार्टीलाई मध्यनजर गरी ल्याइएको पार्टी बसका निश्चित क्षेत्र निर्धारण गरिने र ट्राफिक नियमअनुसार सञ्चालन गरिने उनको भनाइ छ ।

एक साताभित्रै पार्टी बस काठमाडौँमा व्यावसायिक रूपमा सञ्चालन गरिनेछ । भारतको टाटा मोटर्सले उत्पादन गरेको बसको च्यासिललाई पार्टी गर्न मिल्ने थलोका रुपमा परिमार्जन गरिएको छ । बसभित्र सिट हुँदैन ।

सोफा शैलीमा दुईतिर काउच राखिएको छ । बसमा एक पटकमा ३६ जनाले यात्रा गर्न सक्छन् । बसभित्रै मदिराको सुविधा र खाना तताउने उपकरणसहितको बार छ । बसको अघिल्तिर डिजेले सङ्गीतको आनन्दमा मदिरा तथा कफी पिउँदै यात्रा गर्न सकिनेछ ।

निर्देशक शर्माका अनुसार यो पार्टी बसको प्रतिबस साढे ३ करोड रुपैयाँ पर्छ । परियोजनाका लागि ७ करोडभन्दा बढी लगानी गरिएको छ ।

एयरपोर्ट पिकअप, घुमफिर, पिकनिक, विवाह, निजी कार्यक्रम आदिमा यो बस प्रयोग गर्न सकिनेछ । बस प्रयोग गर्न एक हजार रुपैयाँ प्रवेश शुल्क पर्छ । विशेषगरी बिहे र पर्यटकका लागि यो बस उपयुक्त हुनेछ ।

नेपाल भ्रमण वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको पार्टी बस क्रमशः अन्य पर्यटकीय गन्तव्यमा पनि लैजाने कम्पनीको योजना छ । ग्राहकलाई मनोरन्ञ्जन र रमाइलो वातावरणमा विभिन्न पर्यटकीय गन्तव्यमा पु¥याउने उद्देश्यसहित सेवा शुरु गरिएको निर्देशक शर्माको भनाइ छ ।

इन्टेरियर डिजाइन, कलर, लाइट्स, म्युजिक र गुणस्तर सेवा पार्टी बसको मुख्य आकर्षण हुन् । बसमा आधुनिक प्रणालीबाट सुसज्जितका साथै सुरक्षाका सबै मापदण्डलाई ध्यान दिइएको छ । –रासस

प्रकाशित मिति : १ माघ २०७६, बुधबार ०९:२७