२० पुष २०८१, शनिबार | Sat Jan 4 2025

चीनले सुपुर्दगी सन्धिमा देखायो चासो, आपराधिक गतिविधि नियन्त्रणमा संवेदनशील बन्नुपर्ने धारणा

२९ पुस, काठमाडौं । चिनियाँ पक्षले गृहमन्त्री रामबहादुर थापाको चीन भ्रमणका अवसरमा नेपालसँग हुने भनिएको सुपुर्दगी सन्धिबारे चासो राखेको छ । गत पुस २० देखि २५ गतेसम्म भएको गृहमन्त्री थापाको भ्रमण क्रममा चिनियाँ पक्षले नेपाल–चीन सीमाबाट आपराधिक गतिविधि बढिरहेकाले त्यसलाई नियन्त्रण गर्न सुपुर्दगी सन्धि आवश्यक रहेको तर्क राखेको थियो ।

राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच सुपुर्दगी सन्धि गर्नेगरी छलफल अगाडि बढाएको भए पनि त्यति बेला ‘आपराधिक विषयहरुमा पारस्परिक कानुनी सहायताबारे नेपाल र जनगणतन्त्र चीनबीच सन्धि हुने’ भन्ने समझदारीमात्रै भएको थियो । त्यही समझदारीमा टेकेर गृहमन्त्री थापाको भ्रमणको समयमा पनि चिनियाँ पक्षले चासो व्यक्त गरेको खबर नागरिक दैनिकमा छ ।

‘चिनियाँ पक्षले सीमा सुरक्षा र व्यवस्थापनबारे चासो राखेको हो । राष्ट्रपति सीको भ्रमणका बेला भएका समझदारीलाई कार्यान्वयन गर्ने सवालमा कुराकानी भएको छ,’ गृहमन्त्रीको भ्रमणमा सहभागी एक सदस्यले भने । भ्रमणका बेला कुनै पनि लिखित सम्झौता भने नभएको उनले बताए ।

प्रकाशित मिति : २९ पुष २०७६, मंगलवार ०८:१२