१५ असार २०८१, शनिबार | Sat Jun 29 2024

चीनका बन्दरगाह नेपाललाई खुला


२८ पुस, काठमाडौं नेपालले चीनका ४ सामुद्रिक र ३ सुक्खा बन्दरगाह प्रयोग गर्न पाउने बाटो खुला भएको छ  । २०७४ भदौ २१ गते नेपाल र चीनका वाणिज्य सहसचिवस्तरीय बैठकले अन्तिम रूप दिएको पारवहन तथा यातायात सम्झौताको कार्यविधि (प्रोटोकल) अनुसारै चीनका बन्दरगाह उपयोगको सुविधा नेपालले पाएको हो  ।

दुई देशबीच त्यतिबेला भएको सहमति अनुसार नेपालले अन्तर्राष्ट्रिय व्यापारका लागि चीनका तियान्जिन, सेन्जेन, लियान्युगाङ र झ्याङ्झियाङ सामुद्रिक बन्दरगाह तथा लान्जाओ, ल्हासा र सिगात्से सुक्खा बन्दरगाह उपयोग गर्न पाउने भएको खबर गोरखापत्र दैनिकमा छ । यो सहमति यही जनवरी १ देखि कार्यान्वयनमा आएको हो  ।

बन्दरगाहबाहेक दुई देशबीच थप नाका प्रयोगमा पनि सहमति जुटेको छ  । जसअनुसार अबदेखि चीनतर्फ पारवहनका लागि रसुवा, कोदारी र यारी तथा द्विपक्षीय व्यापारका लागि किमाथाङ्का, नेचुङ (कोराला) र ओलाङ्चुङ्गोला गरी ६ नाका प्रयोग गर्न सकिनेछ  । नेपालमा दर्ता भएका ढुवानीका साधन अनुमति लिएर सिगात्सेसम्म आउन जानसक्ने सहमति पनि भएको छ  ।

प्रधानमन्त्री केपी शर्मा ओली २०७२ चैतमा चीन भ्रमणमा रहँदा दुई देशबीच पारवहन तथा यातायात सम्झौता भएको थियो  । त्यसपछि २०७५ असारमा प्रधानमन्त्री ओली चीन भ्रमणमा रहँदा उक्त सम्झौता कार्यान्वयन गर्ने कार्यविधिमा हस्ताक्षर हुने भनिए पनि पर्याप्त तयारी नपुगेको भन्दै गतवर्षकै असोज १५ गतेभित्र यसलाई टुङ्ग्याउने सहमति भएको थियो  ।

सोही सहमति अनुसार दुई देशबीच ल्हासा, बेइजिङपछि र तेस्रोपटक काठमाडौँमा बसेको दुई देशका प्रतिनिधिले प्रोटोकललाई अन्तिम रूप दिएको थियो  । प्रोटोकलमा सहमति जुटेपछि राष्ट्रपति विद्यादेवी भण्डारीको गत वैशाख तेस्रो साता भएको चीन भ्रमणका क्रममा यसमा हस्ताक्षर भएको थियो  । प्रोटोकलमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र चीनका तर्फबाट यातायातमन्त्री ली छियाङपेङले हस्ताक्षर गरेका थिए ।

भारत नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय व्यापार साझेदार हो  । भारतपछि नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय व्यापार चीनसँग हुँदै आएको छ  । भन्सार विभागको चालू आर्थिक वर्षको ५ महिनासम्मको तथ्यांकअनुसार नेपालले भारतबाट ३ खर्ब ४९ अर्ब ६३ करोड रुपैयाँको आयात गरेको छ भने ३२ अर्ब ५६ करोड रुपैयाँको निर्यात गरेको छ  ।

त्यस्तै चीनबाट यस अवधिमा १ खर्ब २ अर्ब ४७ करोड रुपैयाँको आयात भएकोमा ८६ करोड ३२ लाख रुपैयाँको मात्र त्यहाँ निर्यात भएको छ  ।

प्रकाशित मिति : २८ पुष २०७६, सोमबार ०७:२९