दूरसञ्चार कम्पनी सेयर बिक्रीमा ‘क्रस होल्डिङ’ निषेध
२८ पुस, काठमाडौं । दूरसञ्चार कम्पनीको सेयर खरिद बिक्री प्रक्रिया थप कसिलो बनाइने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिप्राप्त व्यक्तिको सेयर खरिद बिक्री विनियमावली, २०७६ जारी गर्दै यस्तो प्रक्रियामा थप कडाइ गर्ने भएको हो ।
विनियमावलीअनुसार कुनै दूरसञ्चार कम्पनीको सेयर खरिद गर्न चाहने व्यक्तिको अर्को दूरसञ्चार कम्पनीमा लगानी (क्रस होल्डिङ) भएको हुनुहुँदैन । विनियमावलीले कानुन प्रतिकूल दोहोरो लगानी नरहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । त्यस्तै नेपालमा दर्ता भएका दूरसञ्चार कम्पनी वा व्यक्तिको सेयर धारण गर्ने विदेशी (अफसोर) कम्पनीले सम्बन्धित देशमा दर्ता भएको प्रमाणपत्र पेस गर्नुपर्ने व्यवस्थालाई अनिवार्य गरिएको खबर गोरखापत्र दैनिकमा छ ।
सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति लिनैपर्ने प्रावधान पनि विनियमावलीमा छ । यस्तो स्वीकृतिको व्यवस्था चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढीको सेयर खरिद बिक्रीमा मात्र लागू हुनेछ ।
दूरसञ्चार कम्पनीको सेयर खरिद बिक्री प्रक्रियालाई थप पारदर्शी र त्यसलाई नियामकको जानकारीमा ल्याउने उद्देश्यसहित दूरसञ्चार ऐनको दफा ६२ ले दिएको अधिकार प्रयोग गरेर विनियमावली तयार गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए ।
सेयर खरिद गर्न चाहने व्यक्तिले आयस्रोत विवरण बुझाउनुपर्ने, नेपाली नागरिक भए नागरिकता र स्थायी लेखा नम्बरको प्रमाणपत्र, विदेशी व्यक्ति भए राहदानी र नेपाल प्रवेशाज्ञाको कागजात पेस गर्नुपर्नेछ । सेयर लागत मूल्य र खरिद बिक्री मूल्य खुलेको सेयर खरिद बिक्रीका लागि भएको द्विपक्षीय सम्झौताको प्रतिलिपि पनि प्राधिकरणलाई उपलब्ध गराउनुपर्ने छ । सेयर खरिद र बिक्रीमा संलग्न व्यक्तिले बिक्रीका लागि तय भएको सेयर मूल्य खुल्ने गरी सेयर खरिद बिक्रीनामा पनि पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।
विनियमावलीमा सेयर खरिद बिक्री गर्न नपाइने अवस्था पनि उल्लेख गरिएको छ । कानुनबमोजिम कालोसूचीमा परेको, कोलोसूचीबाट फुकुवा भएको ३ वर्ष पूरा नभएको, अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण लेखापरीक्षण नभएको अवस्थामा सेयर खरिद बिक्री प्रक्रिया अगाडि बढ्ने छैन । सेयर खरिद वा बिक्रीका लागि स्वीकृति माग गर्ने अनुमतिप्राप्त व्यक्ति ठेक्कापट्टामा संलग्न रहेको र अघिल्लो आर्थिक वर्षसम्मको कर चुक्ता नभएको वा स्थायी लेखा नम्बर नियमित नगरेको अवस्थामा पनि सेयर खरिद बिक्री नहुने उल्लेख छ ।
प्रकाशित मिति : २८ पुष २०७६, सोमबार ०७:००