२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

बिरामी भएको झुटो प्रचार गराउने त्रि वि उपकुलपति खनियाँसँग प्रधानमन्त्री रुष्ट, बर्खास्त गर्ने तयारी

२३ वैशाख, काठमाडौँ । प्रधानमन्त्री एवम् त्रिभुवन विश्व विद्यालयका कुलपति प्रधानमन्त्री केपी शर्मा ओली उपकुलपति तीर्थ खनियाँको कार्यशैलीबाट रुष्ट बनेका छन । त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित ‘त्रिविसभा’ अर्थात् सिनेट बैठक स्थगन भएपछि राष्ट्रिय समाचार समितिलाई प्रतिक्रिया दिँदै उपकुलपति खनियाँले प्रधानमन्त्री बिरामी भएकाले सभा स्थगित भएको भन्दै झुटो प्रचार गराएका थिए । खनियाँले प्रधानमन्त्रीको स्वास्थ्यलाई देखाएर झुटो प्रचार गराएपछि ओली थप रुष्ट बनेका छन । ओलीले शिक्षामन्त्रीसँग खनियाँको कार्यशैली खराब भएको भन्दै बर्खास्त गर्नेबारेमा परमार्श समेत गरेको बुझिएको छ ।


उनले राससलाई जानकारी दिँदै भनेका छन ‘शनिबार प्रधानमन्त्रीलाई बैठकबारे जानकारी गराउन जाँदा उहाँको स्वास्थ्यावस्था राम्रो नभएका कारण लामो समय कुरेर पनि भेट गर्न पाइएन । यो बैठक कुलपतिले बोलाएको हो, उहाँले शिक्षा मन्त्रीमार्फत सभा बैठक स्थगन गर्न भन्नुभयो, मैले बैठक स्थगन गरेँ ।”
यता प्रधानमन्त्रीको सचिवालयले भने प्रधानमन्त्रीको स्वास्थ्यका कारण सिनेट बैठक स्थगन भएको भन्ने भनाइको खण्डन गरेको छ । प्रधामन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठीक रहेको बताउँदै भने, “प्रधानमन्त्री शनिबार दुई वटा कार्यक्रममा सहभागी हुनुभएको थिये र आज बिहानैदेखि विभिन्न कार्यक्रममा सहभागी हुनुभएको छ ।’

प्रकाशित मिति : २३ बैशाख २०७५, आईतवार १२:३०