१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

जेएनयूमा नकाबधारी समूहको आक्रमणबाट १८ विद्यार्थी घाइते : विरोधमा दिल्ली र मुम्बईमा प्रदर्शन

२१ पुस, काठमाडौं । भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) मा नकाबधारी समूहले आक्रमण गरेको छ । आइतबार साँझ भएको आक्रमणबाट जेएनयू छात्र संघका अध्यक्ष आईसी घोषसहित १८ विद्यार्थी घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार मुखमा मास्क लगाएका ५० जनाभन्दा बढी आक्रमणकारीका हातमा फलामे डन्डी र लठ्ठी थियो । उनीहरुले क्याम्पस र छात्रावासमा पसेर आक्रमण गरेका थिए । घाइतेहरुलाई अस्पताल पुर्‍याउन ७ एम्बुलेन्स प्रयोग गरिएको थियो ।

अहिले स्थिति प्रहरीको नियन्त्रणमा रहेको बीबीसीले समाचारमा जनाएको छ । जेएनयूको मुख्य गेटमा उल्लेख्य संख्यामा प्रहरी तैनाथ छन् । विद्यार्थीले विश्वविद्यालय गेटबाहिर र दिल्ली प्रहरी मुख्यालय बाहिर विरोध प्रदर्शन गरेका छन् । विश्वविद्यालयमा भएको हिंसाको विरोधमा मध्यरातमा मुम्बईको गेटवे अफ इन्डियामा पनि अन्य कलेजका विद्यार्थी भेला भएर प्रदर्शन गरिरहेको बीबीसीले जनाएको छ ।

विश्वविद्यालय प्रशासनले आक्रमणको निन्दा गर्दै दोषी पहिचान गरी कारबाही गर्न प्रहरीसमक्ष माग राखेको छ । गृहमन्त्री अमित शाहले पनि घटनाको अनुसन्धान गरी आवश्यक कदम चाल्न निर्देशन दिएका छन् ।

जनवरी १ देखि विश्वविद्यालयमा शीतकालीन सत्र सुरु भएको थियो । त्यसपछि विद्यार्थीहरुको रजिष्ट्रेसनको काम भइरहेको थियो । रजिष्ट्रेसनको समर्थन र विरोध गर्ने विद्यार्थीबीच मतभेद थियो । यही विषयलाई लिएर ५ जनवरीका दिन दिउँसो विद्यार्थीबीच झडप भएको थियो । त्यसपछि साँझ नकाबधारी समूहले छात्रावासमा प्रवेश गरी आक्रमण गरेको विश्वविद्यालय प्रशासनले जनाएको छ । –बीबीसी

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार ०८:५२