प्रदेश ३ को राजधानीबारे सांसददेखि सामाजिक अभियन्तासम्म असन्तुष्ट (कसले के भने ?)
-पवित्रा मुडभरी
१६ पुस, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रदेश नं ३ को राजधानी र नामका विषयमा छलफल भयो । लगत्तै नेताहरूले पत्रकार मार्फत नाम बागमती र राजधानी हेटौँडा बनाउने निर्णय भएको भन्दै प्रचार गराए । केन्द्र र नामाकरण बारे नेकपा सचिवालयले नै निर्णय गरेको भन्ने समाचारहरू भाइरल बनेपछि धेरैले धेरैथरी प्रतिक्रिया जनाएका छन । नेकपाका धेरै नेता र सांसदले सचिवालयले प्रदेशको नाम र राजधानीको बारेमा निर्णय लिएको भन्दै असन्तुष्टि जनाएका छन । कतिपयले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन भने कतिपयले सञ्चारमाध्यम मार्फत प्रतिक्रिया दिए ।

विशेष गरी नुवाकोट र काभ्रेका नेकपाका नेतादेखि सांंसदसमेतलाइ भने जवाफ दिन अफ्ठेरो परेको छ । प्रदेशसभामा छलफल हुनुअघि नै पार्टीको सचिवालयले नाम र राजधानीको आदेश जारी गरेपछि कसले के भने भन्ने विषय हामीले यहाँ समेटेका छौँ । पूर्वमन्त्री समेत रहेका नेकपाका नेता शेरबहादुर तामाङले नाम र राजधानीको बारेमा एउटा निर्णय सार्वजनिक भएपछि आफ्नो फेसबुकमा यस्तो लेखेका छन
प्रदेश नं ३ को केन्द्र र नामाकरणको विषयमा अहिले पार्टी पंक्ति र आम जनताको चासो र चर्चाको विषय भएको छ । यो बिषयमा तत्कालीन एमाले बागमती अञ्चल कमिटीको तर्फबाट मेरो संयोजकत्वमा २०६८ सालमा राज्यपुनसंरचना अध्ययन कार्यदल बनाई राज्यको पुनसंरचना सम्बन्धमा दृष्टिकोण बनाउने काम भएको थियो । हाम्रो कार्यदलले ७ वटा प्रदेशको भुगोल, नाम, केन्द्र र नक्सा समेत तयार पारियो । २०६८ माघ ११ गते पार्टी केन्द्रलाई सो प्रस्ताव छलफलको लागि पेस गरियो ।
पार्टीको २०६९ असार, श्रावणमा सम्पन्न राष्ट्रिय प्रतिनिधि परिषद बैठकमा सो बिषयमा छलफल भयो । सोही आधारमा त्यसपछि बसेको एमाले केन्द्रिय कमिटीको बैठकले ७ प्रदेशको अवधारणालाई स्वीकार गर्दै हामीले प्रस्ताव गरेको नाममा केही फेरबदल गर्यो । जसमा म अरु प्रदेशको बारेमा जान चहान्न, प्रदेश ३ कै बारेमा अहिले चर्चा भैरहेकोले म यस विषयमा राख्दछु । अहिले भनिएको प्रदेस ३ को नाम : वागमती नेवा तामसालिङ हामीले प्रस्ताव गरेकोमा पार्टीले तामसालिङ नेवा वागमती भनेर निर्णय गर्यो । भुगोल जस्ताको तस्तै स्वीकार गरियो । जहाँसम्म केन्द्रको विषय छ हामीले काभ्रेको बनेपा, धुलिखेल र पनौती मिलाएर महानगर बनाई त्यसैलाई प्रदेसको केन्द्र बनाउने प्रस्ताव गरिएको थियो । पार्टीले केन्द्रको बारेमा नबोलेकोले हाम्रो प्रस्ताव स्वीकार गरेको बुझ्यौं ।
पछि संविधानसभाले २०७२ मा संविधान बनाउँदा हाम्रो प्रस्ताव अनुसार एमालेले तयार गरेको ७ प्रदेसको खाकालाई पारित गर्यो । नाम भने अंकमा राख्यो । केन्द्र तोकेन । पछि २०७४ सालमा शेर बहादुर देउवा नेतृत्वको चुनावी सरकारले हेटौंडालाई अस्थायी राजधानी तोक्यो ।
अहिले नेकपाले प्रदेसको केन्द्र हेटौंडा नै हुने र नाम वागमती हुने भनेर स्थायी कमिटीको निर्णय भनेर प्रचार भएको छ । जहाँसम्म यस्तो निर्णय भएको छैन होला । भएको भएपनी सच्याउनु पर्छ । प्रदेसको केन्द्र र नाम तोक्ने कुरालाई पार्टी केन्द्रको विषय बनाउनु हुँदैन । एउटा प्रदेसको विवादको बिषय राष्ट्रियकरण हुन्छ र सिंगै पार्टीलाई विवादमा लैजान्छ ।
त्यस्तै नेकपाका कतिपय प्रदेश सांसदहरूले क्षेत्राधिकारमा हस्तक्षेप गरेको र राजधानी हेडाैँडा उपयुक्त नहुने भन्दै विपक्षमा उभिने बताएका छन । पूर्वमन्त्री समेत रहेका नेकपा प्रदेश ३ का संसद केशव स्थापितले कुनै पनि हालतमा हेटाैँडा प्रदेश राजधानी हुन नसक्ने बताएका छन । उनले विभिन्न सञ्चारमाध्यमलाइ प्रतिक्रिया दिँदै प्रदेश सांसदको अधिकारको कुरामा नेकपा सचिवालयले बोल्न नमिल्ने बताए ।
नेकपाका सांसदहरुले संघीयता र संविधानको समेत मर्म विपरित प्रदेशका सांसदहरुले गर्नुपर्ने निर्णयमा पार्टी केन्द्रले हस्तक्षेप गर्न नमिल्ने भन्दै यदि राजधानी तोक्ने विषयमा हस्तक्षेप गरे आफूहरुले त्यसलाई उल्ट्याइदिने चेतावनी समेत दिएका छन् । प्रदेश सांंसद पशुपति चाैलागाइले नेतृत्वले प्रदेशले गर्नुपर्ने निर्णय गरेको भन्नेमा अाफूलाई विश्वास नै नभएको बताए । उनले यदि नेतृत्वले प्रदेशको नाम र राजधानीको बारेमा निर्णय गरेकै रहेछ भने पनि त्यो मान्य नहुने बताए ।
नेकपाकै अर्का सांसद विशाल खड्काले पनि पार्टी सचिवालयले गरेको उक्त निर्णय अवैज्ञानिक र अव्यवहारिक भएको बताएका छन । नेकपाकै अर्का सांसद राजेन्द्रप्रसिसाद पाण्डेले पनि नेताहरुले केन्द्रबाट निर्णय गर्दैमा त्यो निर्णय कार्यान्वयन गर्नुपर्छ भन्ने बाध्यता नरहेको बताए ।
यता हेटाैँडा नै प्रेदेश राजधानी हुने भएपछि नुवाकोट राजधानी बनाउनुपर्छ भन्ने अभिन्ताहरू अभियानको बचाउमा देखिएका छन ।नुवाकोटलाइ प्रदेश राजधानी बनाउनुपर्छ भनेर अभियान चलाउने नुवाकोट सरोकार समाजका महासचिव अनुजकुमार श्रेष्ठले सामाजिक सञ्जाल फेसकुमा लामो टिप्पणी लेख्दै प्रदेशको नामाकरण र राजधानी तोक्ने कार्य प्रदेश सभामा व्यापक छलफलबाट हुनसके राम्रो हुने बताएका छन । नेकपा नुवाकोटका युवा नेता समेत रहेका श्रेष्ठले फेसबुकमा यस्तो लेखेका छन ।
नुवाकोटलाई ३ नम्बर प्रदेशको ३राजधानी बनाउनुपर्छ भन्ने बिषय कुनै राजनीतिक दलको चुनावी प्रयोजनको निम्ति उठाएको होईन, नकि कसैको व्यक्तिगत लहडमा नै उठाएको विषय हो। यो समय सापेक्ष, भौगोलिक अबस्थिती र विकासको हिसाबले अन्य सम्भावित जिल्लाहरुको तुलनामा पछिपरेको नुवाकोट जिल्ला नै उपयुुक्त हुने देखिएकोले राजधानी बनाउनुपर्ने मागलाई अभियानको रुपमा अगाडि बढाईएको हो। सबै राजनीतिक दलको साझा मागको रुपमा यो बिषयको उठान भएको छ। फरक यति मात्र हो कि कसैको आवाज चर्को सुनियो त कसैको मधुरो।
हामी नुवाकोट सरोकार समाजको तर्फबाट विभिन्न कार्यक्रम तथा गतिविधिहरु आयोजना गरि यो विषयलाई व्यापक तुल्याएका हौ। आफ्नो पहुँच र क्षमताले भ्याएसम्म यस बिषयमा छलफल चलाएका हौ। नुवाकोटलाई राजधानी कायम गर्न नुवाकोटबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने सदस्यहरुले प्रस्ताव समेत दर्ता गराएका थिए। प्रदेश सभाको अध्ययन समितिले सम्भावित जिल्लाहरुको स्थलगत अध्ययन समेत सम्पन्न भएको थियो। जहाँ, जे भए पनि प्रदेशको नामाकरण र राजधानीतोक्ने कार्य प्रदेश सभामा व्यापक छलफलबाट हुन सके सर्वोकृष्ट हुनेछ। जनता, आफुले निर्वाचित गरि पठाएका प्रतिनिधिहरुले सभामा छलफल गरि निर्णय गरेको हेर्न चाहन्छन् ।
संविधानमा यस्तो छ व्यवस्था
नेपालको संविधानको धारा २८८ मा राजधानीबारे उल्लेख छ । जसको उपधारा १ मा नेपालको राजधानी काठमाडौँमा हुनेछ भनिएको छ भने उपधारा २ मा प्रदेशको राजधानी प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाइ बहुमतबाट निर्णय भएबमोजिम हुने व्यवस्था गरिएको छ । त्यस्तै उपधारा ३ मा उपधारा (२) बमोजिम निर्णय नभएसम्म नेपाल सरकारले तोके बमाजिमको स्थानबाट प्रदेशको कार्य सञ्चालन हुने भनिएको छ ।
समाजिक सञ्जालमा अन्य कसले के भने तल हेर्नुहोस्

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार १२:१८












