१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

आजदेखि नेपाल भ्रमण वर्ष २०२०, यस्तो छ तयारी

१६ पुस, काठमाडौं सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० आज (बुधबार) अर्थात सन् २०२० जनवरी १ बाट भव्य रुपमा सुरु हुँदै छ । दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक आरम्भ हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम छ । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन् ।

भ्रमण वर्षको भव्य उद्घाटनको सबै तयारी भइसकेको छ । हिजै रङ्गशालामा पूर्वाभ्याससमेत गरिएको थियो । उद्घाटन समारोहलाई विशेष बनाउन सबैखालको तयारी गरिएको सचिवालयले जनाएको छ । अपराह्न ४ बजेदेखि सुरु हुने औपचारिक कार्यक्रम ५ घण्टासम्म चल्नेछ । सहभागी पाहुनाको स्वागत सेलिब्रेटीबाट गरिनेछ । नेपालको संस्कृति झल्कने नाचगान पनि प्रदर्शन गरिनेछ । रङ्गशालामा भ्रमण वर्ष २०२० को मानव साङ्लो पनि बनाइनेछ । यस्तै कुटुम्ब ब्यान्डले प्रस्तुति दिने तयारी गरिएको छ ।

भ्रमण वर्ष सचिवालयका अनुसार राजधानीमा दशरथ रङ्गशालासँगै सातै प्रदेशका मुख्यमन्त्रीले आ-आफ्नो प्रदेशबाट पनि भ्रमण वर्षको शुभारम्भ गर्नेछन् ।

त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने पर्यटन मन्त्रालयले जनाएको छ । भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सरकारले ३१ मुलुकका पर्यटनमन्त्री एवं विशिष्ट व्यक्तिलाई आमन्त्रण गरेको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल आएका अतिथि तथा उपस्थित सबैलाई स्वागत गर्नेछन् । यही अवसरमा भ्रमण वर्षको राष्ट्रिय गीतसमेत सार्वजनिक गरिनेछ । भ्रमण वर्षको ‘यति मस्कट’को सार्वजनिकसँगै विभिन्न सांस्कृतिक कार्यक्रम गरिने भ्रमण वर्षको कार्यक्रम तालिका बनाइएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उक्त लक्ष्यलाई सार्थक तुल्याउन सरकारी निजी क्षेत्र एवं आम सर्वसाधारण स्वःस्फूर्त रुपमा जुटेका छन् । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार ०६:४४