१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

खर्चालु पर्यटक,  घुम्ने कता ?

१६ पुस, काठमाडौं अघिल्लो वर्ष सपरिवार मुस्ताङ यात्रामा निस्केका कपनका जगत योञ्जन यस वर्षको दशैँमा पनि कर्णालीको मुगुस्थित रारा ताल घुमेर आए । वर्षभरि कामै काम भन्यो दगुर्‍यो । नेपालमै रहेका हेर्नलायक प्राकृतिक सम्पदाको अवलोकन भ्रमण र अनुभव गर्ने कामलाई आफ्नो वार्षिक तालिकामा नै राखेका जगतको अबको गन्तव्य योजना कैलाश मानसरोवरतर्फ छ ।

सतुङ्गल बस्दै आएका व्यवसायी सन्तोष पन्थी पनि दुई महिना अगाडि मलेसिया, थाइल्यान्ड र सिङ्गापुर यात्रा गरिसके । उनले भने, ‘वर्षमा एकपटक भ्रमणकै लागि एक सातादेखि १० दिन छुट्याउने गरेको छु ।’

पुल्चोकस्थित शिखर होलिडेका सञ्चालक सुमन सुचिकारका अनुसार पछिल्ला वर्षमा नेपालीमा घुम्ने संस्कृतिको विकास ह्वात्तै बढेको छ । बढी मात्रामा दशैँ तिहार, क्रिसमस, अङ्ग्रेजी नयाँ वर्ष र नेपाली नयाँ वर्षको समयमा घुम्नेको सङ्ख्या बढी छ । सपरिवार नै घुम्न जानेका लागि दशैँको समय उपयुक्त हुने गरेको भन्दै सुमन भन्छन्, ‘दशैँको समयमा नेपाल र नेपाल बाहिर घुम्ने नेपालीको सङ्ख्या अत्यधिक हुने गर्दछ ।’

घुम्नकै लागि नेपालीको क्रयशक्ति बढ्दै जानु, सस्तो मूल्यमा उपलब्ध हुने आकर्षक प्याकेज, फरक संस्कृति, भेषभूषा, भौगोलिक अवस्थिति हेर्ने र नयाँ अनुभव लिने चाहनाले गर्दा आन्तरिकभन्दा पनि विदेश घुम्ने नेपालीको सङ्ख्या बढ्दै गएको अनुभव छ सुमन सुचिकारको ।

कलेज, कर्पोरेट हाउसहरूले आफ्ना कर्मचारीका लागि भ्रमणमा लगानी वृद्धि गर्नु, विदेशमा परिवारका सदस्यको उपस्थिति, नेपालबाट सीधा हवाई सम्पर्क र गन्तव्य बढ्नुले पनि विदेश घुम्न जानेको लर्को लाग्न थालेको छ । पछिल्लो समय घुम्ने फिर्ने कार्यमा उदार बन्दै गएका नेपालीहरू स्वदेशसँगै विदेशमा पनि उत्तिकै पैसा खर्च गर्न थालेका छन् ।

बढी मात्रामा नेपालीका लागि थाइल्यान्ड, दुबई, चीन, सिङ्गापुर, इन्डोनेसियाको बाली प्रमुख पर्यटकीय गतव्य हुन् । नेपालको आन्तरिक उडानभन्दा यी मुलुकको हवाई भाडादरमा धेरै फरक छैन । अहिले नेपालीको विश्वका ३६ देशमा पासपोर्ट मात्र भएमा निश्चित दिनसम्म घुम्न पाउँछन् । सबैभन्दा सस्तो ५० हजारदेखि सुरु भएर ६ लाख रुपैयाँसम्मका प्याकेजमा मध्यमवर्गीयदेखि उच्च वर्गले आ–आफ्ना क्षमता अनुसारका प्याकेज खरिद गर्ने गर्छन् ।

केही वर्षअघिसम्म पोखरा, इलाममा आन्तरिक पर्यटकको घुइँचो धेरै हुन्थ्यो । हिमाली जिल्लामा जानेका लागि बाटो सहज थिएन, हवाई मार्ग महँगो पथ्र्यो । तर अहिले हिमालका फेदसम्मै मोटर गाडी पुग्न थालेपछि त्यहाँसम्म जाने मन भएकालाई हलुका भएको खबर गोरखापत्र दैनिकमा छ ।

धार्मिक आस्थाको केन्द्र मुस्ताङको मुक्तिनाथ मन्दिर गाडीमै पुग्न सकिने भएको छ । धार्मिक आस्थासँगै बाटोमा पर्ने मार्फा गाउँका स्याउ, चिसो बतास चल्ने जोमसोमसँगै कालीगण्डकीको मुहान कागबेनी निकै रमाइलो ठाउँ मुक्तिनाथ पुग्नेहरू पछिल्लो समय निकै बढेका छन् ।

सुदूरपश्चिमको खप्तड जाने कुरा पनि अहिले सामान्य भएको छ । काठमाडौँबाट १५ घण्टाको बसयात्रा गरेपछि धनगढीहुँदै डोटी सदरमुकाम सिलगढी र त्यहाँबाट बखलेकसम्म जिप रिजर्भ गरेर कच्ची बाटोमा यात्रा गर्न सकिने यो ठाउँ पनि धार्मिक पर्यटनको उत्कृष्ट गन्तव्य हो ।

कर्णालीको उत्कृष्ट गन्तव्यस्थल मुगुस्थित रारा सबैभन्दा आकर्षक र आन्तरिक पर्यटक झुम्मिने गरेका छन् । अग्लो स्थानमा रहेको मनाङमा रहेको तिलिचो ताल पनि नेपाली तथा विदेशीका लागि पछिल्लो समय आकर्षक गन्तव्यको केन्द्र हो ।

आन्तरिक र बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य मानिएको अर्को गन्तव्य हुन् पूर्वी नेपालको इलाम र भेडेटार । विश्वमै प्रसिद्ध इलामको चिया र छिन–छिनमै परिवर्तन भइरहने मौसमको अनुभव लिन र हरियालीमा रमाउन चाहनेहरू यो ठाउँमा झुम्मिने गरेका छन् ।

प्रकाशित मिति : १६ पुष २०७६, बुधबार ०६:४१