२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

लेनिन जयन्तीमा मिलेको एमाले–माओवादीको मन कार्ल माक्सको द्धिशतवार्षिकीमा आइपुग्दा फाट्यो

२१ वैशाख, काठमाडौँ । लेनिन जयन्तीमा एउटै मञ्चमा उभिएर कार्यक्रम गरेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको त्यो सहकार्य तोडिएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस र लेनिन जयन्तीसँगै मनाएका दुई ठूला कम्युनिष्ट शक्ति कार्ल माक्सको द्धिशतवार्षिकी कार्यक्रमसँगै मनाउने अवस्थामा रहेनन् ।

पार्टी एकताको विषयमा भएको छलफल र बहस सकारात्मक भएको भन्दै सन्देश प्रवाह गरिरहेको एमालेले भोलि शनिबार स्थायी कमिटीको आयोजनामा पुशपति, भिजन गौशालामा कार्ल माक्सको द्धिशतवार्षिकी कार्यक्रम गर्ने निर्णय गरेको छ । एमालेले त्यसको तयारी स्वरुप निमन्त्रणमा गर्न पनि सुरु गरेको छ ।

कार्यक्रममा एमालेका चार नेतालाई प्रमुख वक्ता बनाइएको छ । जसमा प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा, पूर्वप्रधानमन्त्रीद्धय झलनाथ खनाल र माधवकुमार नेपाल तथा वरिष्ठ उपाध्यक्ष बामदेव गौतमलाई प्रमुख वक्ता बनाइएको छ । यसअघि लेनिन जयन्तीका दिन व्यानरमा विवाद हुँदा चार घण्टा ढिला कार्यक्रम सुरु गर्नुपरेको थियो ।

व्यानरमा लेनिनको फोटो नभएको भन्दै माओवादी कार्यकर्ताले चर्को बिरोधमात्रै गरेनन् व्यानरनै झिकेका थिए । पछि दुईवटा व्यानर राखेर कार्यक्रम गरिएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार १२:४०