१४ आश्विन २०८१, सोमबार | Tue Oct 1 2024

मञ्जुश्रीको मूर्तिले थपियो आकर्षण

१३ पुस, काठमाडौं कीर्तिपुर नगरपालिका ६, चोभारको मञ्जुश्री पार्क काठमाडौँ उपत्यकामा मानव बस्ती बस्दाको ऐतिहासिक कथनसँग सम्बन्धित सामग्रीले सजाउने क्रम जारी छ । काठमाडौँ उपत्यका पानीले भरिएको विशाल तालका रूपमा छँदा तिब्बतबाट मञ्जुश्री आई चोभारको डाँडो काटेर पानी बाहिर पठाएपछि यहाँ बस्ती बस्न सम्भव भएको कथनले चोभारको गल्छी प्रख्यात छ ।

पार्कको व्यवस्थापन गर्दै आएको जलविनायक वन उपभोक्ता समूहका अध्यक्ष दीपेन्द्र महर्जनका अनुसार २०६२ देखि सञ्चालनमा ल्याइएको पार्कमा पछिल्लोपटक करिब ४ करोड रुपैयाँमा मञ्जुश्रीको मूर्ति थप गरिएको छ । उपत्यकाबाट नजिक शान्त, शीतल प्राकृतिक पर्यावरणको सौन्दर्यले भरिपूर्ण सो स्थानलाई स्थानीय बासिन्दाले पार्कको रूपमा विकास गरेको १३ वर्षपछि थपिएको ३३ फिट अग्लो मञ्जुश्रीको मूर्तिले विशेष आकर्षण थपिएको छ । यो मूर्ति कलाकार चन्द्रश्याम डङ्गोलको नेतृत्वमा बनेको हो ।

पार्क सञ्चालन तथा व्यवस्थापन गर्दै आएको वन उपभोक्ता समूहका अध्यक्ष महर्जनका अनुसार त्यो स्थान पहिला ज्यादै एकान्त, डरलाग्दो झाडी, बुट्यानले घेरिएको थियो । काठमाडौँ उपत्यकाको उत्पत्तिसँग जोडिएको ऐतिहासिक यस कथनलाई जीवन्त राख्न चोभारलाई तिनै कथनसँग सम्बन्धित पाटोबाट विकास गरौँ भन्ने लक्ष्यसहित केही व्यक्तिको पहलमा सुरु भएको उनले बताए । अध्यक्ष महर्जनले थपे, “पार्कलाई समृद्ध बनाउन भौतिक संरचनाको विकासलगायत सम्बन्धित सम्पदा, आवश्यक पूर्वाधार निर्माणको क्रम जारी छ ।”

मञ्जुश्रीको ३३ फिट अग्लो मूर्ति
कलाकार चन्द्रश्याम डङ्गोलको समूहले करिब ७ वर्ष लगाएर मञ्जुश्रीको मूर्ति निर्माण गरेका हुन् । कलाकार डङ्गोलले १३ टुक्रा ढुङ्गा जोडेर ३३ फिट अग्लो मूर्ति निर्माण गरेको खबर गोरखापत्र दैनिकमा छ । समूहका अध्यक्ष दीपेन्द्र महर्जन भन्छन्, “सो पार्कको वास्तविक नाम राखिएको ऐतिहासिक र पौराणिक पात्र मञ्जुश्रीको मूर्ति त्यहीँ स्थापना गर्ने अवधारणाका परिकल्पनाकार पुरातत्व एवं इतिहासविद् स्वर्गीय शुक्रसागर श्रेष्ठको हो ।”

आकर्षणमा गुफा
आवश्यक पूर्वाधारसहित २०६२ देखि अवलोकनका लागि खुला गरिएको पार्कभित्र रहेको नाग गुफा, वाराही गुफा र बाघ गुफालाई फलामको बार र सिमेन्टको भर्‍याङसहित सञ्चालन गरिएको छ । १ हजार २५० मिटर लम्बाइको गुफामा हालसम्म ३५० मिटरका लागि मात्र अवलोकन भ्रमणका लागि खुला गरिएको छ । बाँकी स्थानमा बत्तीलगायतका आवश्यक पूर्वाधारका अभावमा भ्रमणका लागि खुला गरिएको छैन । करिब ६० रोपनीमा बनिरहेको पार्क गुरुयोजना अनुसार बनिरहेको छ । त्यस पार्कमा पछिल्लोपटक स्थापना गरिएको मञ्जुश्रीको ३३ फिटको ढुङ्गाको मूर्तिले विशेष आकर्षण थपिएको छ ।

प्रकाशित मिति : १३ पुष २०७६, आईतवार ०६:३७