१३ पुष २०८२, आईतवार | Sun Dec 28 2025

मासुको भाउ बढाउन ३० लाख चल्ला नष्ट

प्रतिकात्मक तस्बिर ।

२ पुस, काठमाडौं नेपाल ह्याचरी उद्योग संघले कुखुराका ३० लाख जिउँदो चल्ला खाल्डोमा गाडेको छ । बजारमा ब्रोइलर र कोइलरको मासुको मूल्य बढाउन संघले चल्ला मारेको हो । ती चल्लाको मूल्य १५ करोड रुपैयाँ पर्छ ।

संघले बजार सुधार गर्ने नाममा एकलौटी निर्णय गरी साना किसानदेखि व्यावसायिक ह्याचरीको ब्रोइलर र कोइलर जातको जिउँदो चल्ला नष्ट गरेको खबर अन्नपूर्ण पोस्टमा छ । संघका पदाधिकारीले फार्ममा जबरजस्ती प्रवेश गरी चल्ला मार्न थालेको गुनासो साना किसानहरूको छ । व्यावसायिक लाभ लिन जिउँदो चल्ला मारेको भन्दै किसानहरूले खेद व्यक्त गरेका छन् ।

संघले मंसिर २९ गतेदेखि पुस ८ गतेसम्म देशभरका ह्याचरीबाट चल्ला उत्पादन गर्न नदिने नीति लिएको छ । यसै क्रममा काठमाडौं, चितवन, पोखरा, बुटवल, धनगढीलगायत सहरमा एक दिनमै ३० लाख चल्ला मारिएको हो । संघका पदाधिकारीले चल्ला राखिएको क्रेटमा चिसो र तातो पानी खन्याइदिएका छन् । यस्तै कतिपय ठाउँमा जिउँदै पुरिदिएका छन् ।

संघले ४५ करोड मूल्यको चल्ला निस्कने अन्डासमेत नियन्त्रणमा लिएर गाडेको छ । मागभन्दा बढी उत्पादन हुँदा मूल्य नपाएको भन्दै जिउँदो चल्ला नष्ट गरेको संघले जनाएको छ । संघका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेलले कुखुरा व्यवसाय व्यवस्थित गर्न तथा किसानलाई लागत मूल्य उपलब्ध गराउन चल्ला र अण्डा नष्ट गरिएको बताए । उनका अनुसार चल्ला नष्ट गर्ने अभियान एक सातासम्म जारी रहनेछ ।

संघले आफ्नो निर्णय मान्न ह्याचरी उद्योगलाई पनि बाध्य पारेको छ । निर्णय नमान्ने उद्योगमा संघका पदाधिकारी नै पुगेर चल्ला र अन्डा नष्ट गर्दै आएका छन् । अध्यक्ष पोखरेलका अनुसार बजारमा एक सातामा ३० लाख चल्ला माग हुन्छ । तर ४५ लाख चल्ला उत्पादन भइरहेको छ । १० दिनमा ६० लाख चल्ला उत्पादन हुन्छ । ६० लाख चल्ला कमी भएपछि बजारमा कुखुराको मासुको अभाव हुन्छ । मासु अभाव गराएर मूल्य बढाउने तयारी ह्याचरी संघको छ ।

लेयर्स, ब्रोइलर र कोइलर जातका चल्ला उत्पादन गर्ने ह्याचरी देशभर ३ सय छन् । नेपाल कुखुरापालक किसान संघका केन्द्रीय अध्यक्ष झनक पौडेलले ह्याचरी संघले किसानसँग सल्लाह नगरी चल्ला नष्ट गरिरहेको बताए ।

प्रकाशित मिति : २ पुष २०७६, बुधबार ०६:४५