१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

दिल्लीमा बढ्यो हिंसा, मोदीको प्रतिक्रिया कस्तो ?

२ पुस, काठमाडौं भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधमा प्रदर्शन चर्किँदै गएको छ । आन्दोलन चर्किएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन् । उता गृहमन्त्री अमित शाह पनि उक्त कानुन लागू गर्न दृढ देखिन्छन् ।

देशभरि विरोध प्रदर्शन विस्तार भइरहेका बेला प्रधानमन्त्री मोदीले नागरिकतासम्बन्धी नयाँ कानुनको बचाउ गरे । तर उनले प्रदर्शनकारीहरूलाई गुरिल्ला राजनीति बन्द गर्न आग्रह गरे । मोदीले मुस्लिमहरूमा विपक्षीहरूले डर पैदा गराएको आरोप समेत लगाएका छन् । कोही पनि भारतीय नागरिक नयाँ कानुनका कारण डराउनुपर्ने अवस्था नरहेको उनको दाबी छ ।

यता केन्द्रीय गृहमन्त्री अमित शाहले विपक्षीले जतिसुकै विरोध गरे पनि कानुन लागु गराउने बताए । उनले भने, ‘म विपक्षलाई भन्न चाहन्छु कि राजनीतिक रूपमा जति सक्नुहुन्छ विरोध गर्नूस् तर मोदी सरकार यो लागु गराउन प्रतिबद्ध छ ।’ नयाँ कानुनले देशभरि आक्रोश निम्त्याइरहँदा दिल्लीमा दिनहुँ प्रदर्शन भइरहेका छन् । मंगलबार सिलमपुर क्षेत्रमा प्रदर्शनकारीहरूले ढुङ्गामुढा गरिरहेका तस्बिर सार्वजनिक भएका छन् ।

जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गरेका छन् । कैयौँ प्रदर्शनकारी र प्रहरी घाइते भएको विवरण सार्वजनिक भएका छन् । दिल्लीदेखि पूर्वमा रहेको सीलमपुर मुस्लिम बहुल क्षेत्र हो । नयाँ कानुनले आफूहरूलाई सीमान्तकृत बनाउने प्रदर्शनकारीहरूको भनाइ छ । नयाँ कानुनले भारतका ३ छिमेकी मुलुक पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट भागेर आएका गैरमुस्लिमहरूलाई नागरिकता दिने बाटो खुला गरेको छ । –बीबीसी

प्रकाशित मिति : २ पुष २०७६, बुधबार ०६:२७