आफैंले तयार गरेको चितामा आफैं जल्नुपर्दा…
१ पुस, काठमाडौं । चाबहिलस्थित चलचित्र विकास बोर्डको प्रांगणमा सोमबार दिउँसो एकातर्फ बोर्ड अध्यक्ष एवं वरिष्ठ अभिनेता केशव भट्टराईको पार्थिव शरीर थियो । अर्कोतर्फ वरिष्ठ अभिनेता दीपक क्षत्रीको पार्थिक शरीर थियो । जहाँ सिनेकर्मीदेखि शुभेच्छुकसम्म यी दुई अभिनेताको पार्थिव शरीरमा पुष्पगुच्छा चढाइरहेका थिए ।
वरिष्ठ अभिनेता भट्टराईले अभिनेता क्षत्रीको श्रद्धाञ्जली सभा बोर्डको प्रांगणमा गर्ने निर्णय आइतबार मात्र गरेका थिए । ‘दीपक दाइको पूर्ण सम्मानसाथ आर्यघाटको एक नम्बर चिता सजाएर अन्त्येष्टि गरिनुपर्छ’ भन्दै बोर्ड अध्यक्ष भट्टराईले आइतबार दिउँसो मात्र बजेट पास गरेको खबर राजधानी दैनिकमा छ । चिता बनाउनेदेखि सम्पूर्ण तयारीका लागि उनले जिम्मा दिएका थिए ।
क्षत्रीका लागि उनले तय गरेको स्थानमा सोमबार भट्टराईकै श्रद्धाञ्जली सभा आयोजना गरियो । अर्को दुःखद संयोग के भने क्षत्रीका लागि भनेर सजाइएको आर्यघाटको १ नम्बरको चितामा सोमबार बेलुका भट्टराईकै पार्थिव शरीर जलाइयो । अभिनेता क्षत्रीको पनि भट्टराईसँगै २ नम्बर चितामा राष्ट्रिय सम्मानसाथ दाहसंस्कार गरियो ।
अभिनेता क्षत्रीको श्रद्धाञ्जली र अन्त्येष्टि सम्मानपूवर्क गर्ने तयारीको जिम्मा बोर्डका कर्मचारीलाई दिएका अभिनेता भट्टराई आफैं सो श्रद्धाञ्जली र अन्त्येष्टिमा मलामीका रूपमा सहभागी हुनेवाला थिए । तर, दुर्भाग्य अभिनेता क्षत्रीको चितासँगै भट्टराईको चिता पनि सोमबार बेलुका जल्यो । जुन कुरा भट्टराईले कल्पनासमेत गरेका थिएनन् ।
भट्टराईको आइतबार बेलुका हृदयघातका कारण ५१ वर्षको उमेरमा निधन भयो । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासँग बैठक सकेर बोर्ड सदस्य नरेन्द्र महर्जनको कीर्तिपुरस्थित घरमा उनी बेलुका ७ बजे पुगेका थिए । महर्जनका बुबाको ६ महिनाको पुण्यतिथिको प्रसाद खाएर घर फर्केका उनी घर पुग्दा गाडीमै बेहोस भएका थिए । १४ वर्षीय छोरा बेडु र चालकले भट्टराईलाई चाबहिलमा रहेको ओम अस्पताल पु¥याउँदा उनको निधन भइसकेको थियो । बेलुका सवा १० बजे अस्पतालले उनको निधन भएको पुष्टि गरेको थियो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले बोर्डमा पुगेर सरकारका तर्फबाट दुवै अभिनेताप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । सञ्चारमन्त्री गोकुल बास्कोटा, सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलगायत विभिन्न चलचित्रकर्मीसँगै शुभचिन्तकले अभिनेता भट्टराई र क्षत्रीको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरे ।
प्रकाशित मिति : १ पुष २०७६, मंगलवार ०६:०५