१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

२६ मंसिर, सिन्धुपाल्चोक सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाअन्तर्गतको मुडे बजारका सबै घर र पसलमा छुर्पी नै छुर्पी पाइन्छ । मुडेमा करिब सयभन्दा बढी पसल छन् । ती सबै पसलमा लेकमा उत्पादन भएका चौँरीको दूधबाट उत्पादन भएका छुर्पी पाइन्छ ।

प्रत्येक पसलमा छुर्पीका लहरा झुन्ड्याइएको छ । जिरी, ओखलढुंगाबाट राजधानी जाँदै गरेका र राजधानीबाट भ्रमणमा आएकाको पहिलो रोजाइमा छुर्पी पर्ने भएका कारण मुडेका प्रत्येक पसलमा छुर्पी पाइने गरेको खबर गोरखापत्र दैनिकमा छ ।

दोलखा भीमसेन मन्दिर, कालिञ्चोक मन्दिरलगायत मन्दिर धाउने तीर्थालु र अन्तर्राष्ट्रिय फिल्म नगरीमा खरीढुंगा र विभिन्न पर्यटकीय क्षेत्र भ्रमणमा आएका पर्यटक मुडेको छुर्पी भनेपछि हुरुक्क हुने भएपछि बजारभरि लेकाली छुर्पी अत्यधिक मात्रमा राख्न थालिएको मुडे बजारमा छुर्पी बेचिरहेका उत्तरबहादुर श्रेष्ठले जानकारी दिए ।

मुडेको छुर्पी धेरै स्वादिलो र मीठो भएका कारण पनि राजधानीबाट छुर्पीको माग आउने गरेको छुर्पी व्यापारीसमेत रहेका श्रेष्ठले बताए । मुडेमा दैनिक सयौँ किलो छुर्पी बिक्री गरी स्थानीयले मनग्गे आम्दानी गरिरहेका छन् ।

दोलखाको शैलुंगेश्वरी गाउँपालिकाको लेकाली क्षेत्रबाट चौंरीपालक किसानले शुद्ध दूधलाई फटाएर छुर्पी बनाएर मुडे बजारमा हजारौँ किलो ल्याउने गर्छन् । किसानबाट मुडे बजारका व्यापारीले सस्तोमा खरिद गरेर महँगोमा बिक्री गर्ने गरेको स्थानीय पशुपति लामाको भनाइ छ ।

हिमाली क्षेत्रका चौँरीले जडीबुटी खाएका कारण दूध पोषिलो हुने गरेको र सोही दूधबाट छुर्पी उत्पादन गरिएका कारण छुर्पी महँगोमा उपभोक्ताले किन्ने गरेका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार ०७:४३