१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

राजधानीमा विद्युत् तार भूमिगत गरिँदै

२६ मंसिर, काठमाडौं नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा विद्युतीय तारहरूलाई भूमिगत गर्ने काम पुसदेखि सुरु गर्ने भएको छ । विद्युत् प्रणाली क्षमता अभिवृद्धि तथा सहरी क्षेत्रमा विद्युतीय जोखिम न्यून गर्ने उद्देश्यसहित यो काम थालनी गर्न लागिएको हो ।

नेपालमा पहिलोपटक विद्युत्को तारलाई भूमिगत गर्ने काम हुन लागेको खबर गोरखापत्र दैनिकमा छ । पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रबाट प्रसारण हुने तारलाई आगामी सातादेखि भूमिगत गरिनेछ । पहिलो चरणको सफलता र अनुभवको मूल्यांकनका आधारमा उपत्यकाको अन्य क्षेत्रका तारहरूलाई भूमिगत गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले काठमाडौँ उपत्यकाका विद्युत्का तारहरूलाई भूमिगत गर्ने कार्य पुसदेखि सुरु हुने बताए । तारलाई भूमिगत गर्न आवश्यक सामग्री र उपकरण काठमाडौँ आइपुगेको बताउँदै घिसिङले भूमिगत गर्ने सबै तयारी पूरा भइसकेको जानकारीसमेत दिए ।

सडक खन्नु पर्दैन
तारहरूलाई भूमिगत गर्न मेलम्चीको जस्तो बाटो खन्न नपर्ने बताउँदै प्रवक्ता प्रवल अधिकारीले यसका लागि होरिजेन्टनल डाइरेक्सन ड्रिलिङ (एचडीडी) प्रविधिको माध्यमबाट ठाउँठाउँमा निश्चित दूरीमा ड्रिल गरेर प्वाल बनाइन्छ र त्यहाँबाट दुईवटा पाइप छिराइनेछ । ती पाइपमध्ये एउटामा विद्युतीय तार र अर्कोमा सञ्चार प्रयोजनका केबल तार छिराइने प्राधिकरणले जनाएको छ ।

यो योजनाअन्तर्गत सडकको दुवैतिर पेटीमा तारलाई भूमिगत गरिनेछ । सडक पेटीमा मात्र भूमिगत गर्ने भएकाले मूल सडक नखनिने बताउँदै उनले बिजुलीको तारसँगै अप्टिकल फाइबरसमेत बिछ्याउने जानकारी दिए ।

 नियन्त्रण कक्षबाट नियन्त्रण
तारहरू भूमिगत भइसकेपछि एउटा वितरण केन्द्रका तारहरूको नियन्त्रण तथा अनुगमन नियन्त्रण कक्षबाट गरिने प्रवक्ता अधिकारीको भनाइ छ । वितरण लाइनमा कहाँ कस्तो समस्या आयो, त्यसको जानकारी नियन्त्रण कक्षमा कम्प्युटरबाट थाहा पाइने उनले बताए ।

जीपीएस र रेडियो फ्रिक्वेन्सी जडान
प्राधिकरणका अनुसार भूमिगत हुने प्रसारण लाइनमा जीपीएस प्रविधि जडान गरिनेछ । अप्टिकल फाइबरमार्फत प्रसारण लाइनमा रेडियो फ्रिक्वेन्सी पनि जडान गरिनेछ । त्यसले प्रसारण लाइनको अवस्थिति मात्र नभई तार ठीक भए–नभएको सूचनासमेत सङ्कलन गर्नेछ । त्यसैगरी ग्राहकका घरमा जोडिने सबै मिटर ‘स्मार्ट मिटर’ हुनेछन् ।

स्मार्ट मिटरले ग्राहकको घरमा खपत हुने विद्युत्को परिमाणसँगै महसुल तिरे–नतिरेको सूचनासमेत केन्द्रलाई दिनेछ । केन्द्रले सोही सूचनाका आधारमा तुरुन्तै अपरेट गर्नेछ । त्यसैगरी तार भूमिगत भइसकेपछि हरेक ग्राहकलाई ‘स्मार्ट मिटर’ जडान गर्नुका साथै ‘स्मार्ट ग्रिड’ विकास गरिने प्रवक्ता अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : २६ मंसिर २०७६, बिहीबार ०७:२१