६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

४ नयाँ परियोजनालाई एडिबीद्वारा ४० अर्ब ४५ करोड ऋण सहयोग

२४ मंसिर, काठमाडाैँ । एशियाली विकास बैंक (एडिबी)ले चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई रु ४० अर्ब ४५ करोड ४० लाख ऋण सहयोग उपलब्ध गराउने भएको छ । बैंकले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि रु २२ अर्ब ३५ करोड, खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि अतिरिक्त लगानीस्वरुप रु सात अर्ब ११ करोड ९० लाख, जीविकोपार्जन सुधार तथा साना किसानको आयआर्जन वृद्धिका लागि रु पाँच अर्ब ६५ करोड र कृषि तथा खाद्य सुरक्षासम्बन्धी नेपाल सरकारका नीतिगत सुधारका कार्यक्रममा सघाउन रु रु पाँच अर्ब ६५ करोड प्रदान गर्नेछ ।

नयाँ परियोजना कार्यान्वयनका निम्ति ऋण प्राप्त गर्नेसम्बन्धी सम्झौतापत्रमा आज अर्थमन्त्रालयमा आयोजित समारोहमा बैंकका देशीय निर्देशक मुख्तोरखामुदखानोभ र अर्थ सचिव राजन खनालले हस्ताक्षर गर्नुभयो ।

दक्षिण एशिया उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)अन्तर्गत उपलब्ध हुने उक्त ऋण ८१ किलोमिटर लामो मुग्लिन–पोखरा सडकको पोखरा–आँबुखैरनीखण्डलाई चार ‘लेन’ मा विस्तारमा उपयोग गरिनेछ । त्यसैगरी बागमती नदीको सौन्दर्यीकरणका साथै ढल प्रशोधन केन्द्र निर्माण गरिनेछ ।

त्यस अवसरमा देशीय निर्देशक खामुदखानोभले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति एडिबीले उल्लेख्यमात्रामा सहायता रकम वृद्धि गरेको बताउँदै त्यसले बैङ्क र नेपाल सरकारबीचको साझेदारी एवं सहकार्यलाई उजागर गर्छ भन्नुभयो । सचिव खनालले नेपालको अर्थतन्त्रको उन्नयन, भौतिक पूर्वाधार निर्माण, कृषि तथा ग्रामीण क्षेत्रका आर्थिक विकासमा एडिबीले निरन्तर सहयोग गरेकामा आभार प्रकट गर्नुभयो ।

प्रकाशित मिति : २४ मंसिर २०७६, मंगलवार १४:४७